• २६ वैशाख २०८२, शुक्रबार

पुनरोत्थानवादीहरू सल्बलाए : खनाल

blog

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल । तस्बिर : गोरखापत्र

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ १७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुरूप अहिलेको नेतृत्व नचलेकाले अराजक र पुनरोत्थानवादी प्रवृत्ति बोकेका झुण्ड सल्बलाउन थालेको बताउनुभएको छ। पूर्व प्रधानमन्त्री खनालले मङ्गलबार एक कार्यक्रममा केही युवाले असहिष्णु रूपमा गरेको नाराबाजीबारे आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक नेतृत्व सच्चिएर रूपान्तरणका विरुद्धमा भइरहेका अराजक गतिविधिलाई निस्तेज पार्नुपर्ने बताउनुभएको हो ।

‘यो अराजक प्रवृत्ति र पुनरोत्थानवादी प्रवृत्ति मात्रै हो, अरू केही होइन । यसले समाजको रूपान्तरणको आमप्रवाहलाई रोक्न सक्दैन, तर जुन रूपमा राजनीतिक नेतृत्वले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुसारको व्यवहार र कार्यशैली अपनाउनुपर्ने हो, त्यसो नहुँदा श्रमजीवीको पक्षमा काम गर्ने राजनीति शक्ति र नेतृत्वमाथि आक्रमणको प्रयास भएको हो’ उहाँले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले  ‘पञ्चायती व्यवस्थाका ३० वर्षमा तत्कालीन राजाहरूको पालामा भएका भ्रष्टाचारका काण्डैकाण्डहरूको मुण्डमाला’ को विरुद्ध लडाइँ लडेका नेताहरूमाथि तथानाम र असहिष्णु शैलीमा गालीगलौजमा उत्रिनु खेदजनक रहेको उहाँले बताउनुभयो । आफूमाथि आइलागेको आरोपको खण्डन उहाँले गर्नुभयो । ‘श्रमजीवी जनताको पक्षमा हामी लडेका छौँ, जीवनपर्यन्त लडिरहने छौँ । म एउटै प्रश्न गर्न चाहन्छु, झलनाथ खनालले एक पैसा पनि खाएको देखाइदेऊ । म दोषी भए पहिलो नम्बरमा हतकडी लगाउन म नै तयार छु’ उहाँले चुनौतीका साथ भन्नुभयो ।

सर्पपालनको विषय 

पूर्व प्रधानमन्त्री खनालले  ‘एन्टी स्नेक भेनम’ निर्माणका लागि सर्लाहीका अगुवाहरूले गरेको प्रयासलाई विवादित बनाइएको बताउँदै चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार २०७० को आमनिर्वाचनमा सर्लाही क्षेत्र १ मा उम्मेदवारी दिँदा यो कार्यक्रम सुरु गर्ने तयारी भएको थियो । ‘चुनावी प्रचार प्रसारको क्रममा हामी सर्लाहीमा थियौँ । एकदिन बिहानै एउटा गाउँमा पुग्दा एउटा बालकलाई आँगनमा सुताइएको थियो । हामीले के भएको भनेर बुझ्दा सर्पले टोकेको रहेछ र आधा घण्टाभन्दा बढी नबाँच्ने कुरा थाहा पायौँ । त्यसपछि सर्लाहीकै साथीहरूले मेरो नाम प्रयोग गरेर झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने भन्नुभयो ।’

उहाँले सुरुमै विवाद आउँछ कि भन्ने शङ्का गरे पनि सामाजिक कामका लागि आफ्नो नाम प्रयोग गर्न दिएको बताउनुभयो । ‘यसमा म संलग्न छैन । मेरो नाम मात्रै प्रयोग भएको हो । मधेश प्रदेशले केही बजेट प्रतिष्ठानलाई दिएको थियो । अहिले प्रतिष्ठानबाट मेरो नाम अलग गरिएको छ । राम्रो उद्देश्य राखेर संस्था स्थापना गरिए पनि समाजका अराजक झुण्डले गलत प्रचार गरेका हुन्, सरकारले १५–१६ जति करोड दिएको हो । ७२ करोड होइन,’ उहाँले भन्नुभयो ।