• १५ चैत २०८०, बिहिबार

बिर्तामोडको प्रकाश आयल ट्रेडर्स सिल

blog

सिल गरिएको प्रकाश पेट्रोल पम्प । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, जेठ १७ गते । 
 झापाको बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट भेटिएपछि प्रहरी र नेपाल आयल निगमले तालाबन्दी गरेको छ । पेट्रोल हालेका सवारीसाधन नचलेपछि सवारीधनीहरुले मङ्गलबार साँझ पम्पमा आएर विवाद गरेका थिए ।

ग्राहकहरूले पेट्रोल पम्प तोडफोड गर्न खोज्दा भीडलाई हटाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सुरज कार्कीले बताउनुभयो  ।

त्यसपछि प्रहरी, जनप्रतिनिधि र नेपाल आयल निगम चारआली शाखाले सो पेट्रोल पम्प बन्द गराएको हो । पम्पमा तेल हालेका धेरै अटो र मोटरसाइकल नचलेपछि ग्राहकहरू आक्रोशित भएका थिए । पेट्रोल हेर्दा मिसावट सोझै देखिए पनि त्यो पानी हो या अन्य कुरा हो भन्ने यकिन गर्न भने नसकिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख कार्कीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

पम्प तोडफोड हुन लागेपछि सुरक्षाका लागि पनि ताला लगाउनुपरेको प्रहरी प्रमुख कार्कीको भनाइ छ । यसबारे नेपाल आयल निगम चारआली शाखाका लेखा अधिकृत सालिक बुढाथोकीसहितको टोलीले पम्पमा पुगेर सिल गर्नुभएको हो । । पम्पमा समस्या देखापरेको खबर पुगेपछि राति ९ बजे आयल निगमको टोली पम्पमा पुगेर शील गरेको लेखा अधिकृत सालिक बुढाथोकीले बताउनुभयो ।

बुढाथोकीले भन्नुभयो, ‘‘सामान्य परीक्षण यहीबाट गर्ने छौँ, थप परीक्षण गर्नुपर्ने आवश्यकता भएमा काठमाडौँ सिनामङ्गलस्थित केन्द्रीय ल्याबमा पठाउँछौ । त्यसपछि तेलमा कुन तहसम्मको मिसावट भएको हो थाहा हुन्छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘रातिको समय र सुरक्षाका कारणले पम्पमा मुचुल्का लगायतका कामहरू गर्न नपाएकाले । आज (बुधबार) बिहान ९ बजेबाट पम्पमा बाँकी मुचुल्का लगायतका कामहरू गरिने छ ।’’

प्रारम्भिक अनुसन्धानबाट तेलमा मिसावट देखिएको र यसबारेमा थप अनुसन्धान र ल्याब रिर्पोट आएपछि थाहा हुने आयल नियमका बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार यसअघि यस पम्पका पटक–पटक समस्या र गुनासोहरू आउने गरेको थियो । यसपटक भने तेलमा पानी मिसाएकै जनगुनासो आएपछि छानबिन थालिएको उहाँको भनाइ छ ।

झापाको बिर्तामोड मुक्तिचोकबाट ४ किलोमिटर दक्षिण भद्रपुररोडमा सञ्चालनमा रहेको प्रकाश आयल ट्रेडर्समा इन्धन भर्ने सवारी साधनहरूमा समस्या आएपछि होहल्ला भएको थियो । 

स्थानीय आकाश राजवंशीले आफूले मोटरसाइकलमा तेल भरेर पाँच सय मिटरसम्म नचल्दै इन्जिन बन्द भएपछि ट्याङ्की खोलेर हेर्दा पानीमात्र भएको बताउनुभयो  । मोटरसाइकल पम्पमा नै फिर्ता ल्याएर मिस्त्री बोलाएर खोल्दा पानीमात्र निस्किएको राजवंशीको भनाइ छ ।

अर्का मोटरसाइकल चालक बिर्तामोड–३ का डम्बर बस्नेतले तीन दिनअघि सो पम्पमा एक हजार रुपियाँका पेट्रोल हालेर पम्प बाहिर निस्कनसाथ मोटरसाइकल समेत बन्द भएको गुनासो गर्नुभयो ।  

यता पम्पका सञ्चालक प्रकाश सरियाले आफ्नो पम्पमा समस्या भएको स्वीकार गर्दै पेट्रोलमा पानी आफूले मिसावट नगरेको बरु तेलको ट्याङ्कीमा  पाइपमा वा अण्डरग्राउण्ड ट्याङ्कीमा लिकेज भएको हुनसक्ने बताउनुभयो ।