• ५ जेठ २०८१, शनिबार

बजेटमा बागमती, लगानीमैत्री आएको छ : निजी क्षेत्र

blog

राममणि दाहाल 

हेटौँडा, जेठ १७ गते । चालु आर्थिक वर्षमा सुरु गर्ने भनिएको र सम्पन्न गर्ने भनिएका योजनासमेत आगामी आर्थिक वर्षको बजेटमा समेटिएका छन्। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत गर्नुभएको आव २०८०/८१ बजेटमा चालु आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्ने भनिएका अधिकांश योजनाले निरन्तरता पाएका हुन्। 

चालु आवमा जस्तै यो बजेटमा पनि धादिङ, नुवाकोट, दोलखा, सिन्धुपाल्चोकमा गुम्बा पुनर्निर्माणलाई निरन्तरता दिइने भएको छ। दोलखाको भीमसेन मन्दिरको संरक्षण र सौन्दर्यीकरण गर्ने, सिन्धुलीगढीलगायतका गढीको संरक्षण र काठमाडौँलगायतका स्थानमा टाकुरा पर्यटन प्रवर्धन गरिने बजेटमा व्यवस्था गरिएको छ। 

शक्तिखोर औद्योगिक क्षेत्रलाई निरन्तरता

निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी चितवनको शक्तिखोरसँगै मकवानपुरको मयूरधाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालनको व्यवस्था आगामी आवको बजेटमा गरिएको छ। हेटौँडा उपमहानगरपालिका १४ मा प्रस्तावित मयूरधाप औद्योगिक क्षेत्र निर्माण गर्ने भन्दै २०७७ फागुन १४ गते शिलान्यास भए पनि अझै काम सुरु भएको छैन। 

काभ्रेको पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्राम नामकरण गर्ने गरी महिला उद्यमीलाई उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने गरी नयाँ घोषणा गरिएको छ।  

आगामी आवमा मकवानपुरमा ग्रेनाइट, स्लाबस्टोन र सेरामिक्स तथा धादिङमा डोलामाइटको अन्वेषण र उत्खनन कार्य अगाडि बढाइने भएको छ। शुक्रराज अस्पतालमा शय्या विस्तार, भरतपुर प्रादेशिक अस्पताल निर्माण सम्पन्न गर्ने, सहिद धर्ममक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रको क्षमता विकासलाई बजेटमा समेटिएको छ। सहिद गङ्गालाल हृदय केन्द्रमा ब्लड बैङ्क स्थापना र भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन गरिएको छ।

आगामी आवमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन, वीर अस्पतालको वर्न युनिटको स्तरोन्नति, निजामती अस्पतालको स्तरोन्नति र मानसिक रोग अस्पताल पाटन क्षमता विस्तार गरिने भएको छ। सिन्धुलीको भिमान र धादिङको बेल्खुमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालन गर्ने र बुढानीलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म योग सेवा केन्द्रको भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ। 

काठमाडौँमा खानेपानी आपूर्ति गर्न मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ।  धादिङको गजुरी, भरतपुरको शारदानगरको खानेपानी भरतपुरमा एकीकृत ढल भक्तपुरको खानेपानी योजना सहलगानी योजना अन्तर्गत चितवनको दिव्यनगर र भण्डारमा खानेपानी आयोजना सम्पन्न गर्न, भरतपुरमा एकीकृत खोनपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गर्न बजेट विनियोजन गरिएको छ। काभ्रेको पाँचखाल र भक्तपुरको दधिकोटमा खानेपानी आयोजना सम्पन्न गर्न र चितवनको जुटपानीमा खानेपानी योजना सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ। 

काठमाडौँको विभिन्न स्थानमा फोहोर पानी प्रशोधन केन्द्र सम्पन्न गर्ने र काठमाडौँमा खानेपानी व्यवस्थामा सुधार गरिने भएको छ। 

त्रिभुवन विश्वविद्यालय क्रिकेट  रङ्गशालालाई अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा विकास गर्ने, मूलपानी क्रिकेट रङ्गशाला सम्पन्न र काठमाडौँको सुवर्णशमशेर क्रिकेट  रङ्गशाला निर्माण अगाडि बढाउन आगामी आवमा बजेट छुट्याइएको छ तर चालु आवमा गौतम बुद्ध व्रिmकेट स्टेडियमको अधुरो काम सम्पन्न गर्ने भनिएको आगामी आवको बजेटमा उल्लेख छैन। 

गाँजा खेतीको सम्भाव्यता अध्ययन 

बागमती प्रदेशमा गाँजा खेतीको अधिक सम्भावना रहेको छ। आगामी आवको बजेटमा औषधीजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ। सिन्धुलीमा कृषि उपज थोक बजार स्थलमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला विस्तार गर्ने, काठमाडौँको कागेश्वरी मनोहरा र बुढानीलकण्ठमा कृषि थोक बजार निर्माण गर्न आगामी आवका लागि बजेट विनियोजन गरिएको छ। 

हिंसापीडित महिलाको पुनस्र्थापना गर्न भक्तपुरमा सूर्यविनायकमा मङ्गला–साहना पुनस्र्थापना केन्द्र निर्माण गरिने भएको छ। सडक यातायाततर्फ नारायणी नदीमा सिग्नेचर पुल निर्माण, दु्रत मार्ग २०८३ भित्र सम्पन्न गर्ने, पासाङल्हामु राजमार्गको तीनपिप्ले–रानीपौवा सडकखण्ड स्तरोन्नति गर्न बजेट व्यवस्था गरिएको छ। नागढुङ्गा सुरुङ सम्पन्न गर्ने, मुग्लिन नौबिसे सडकखण्डको स्तरोन्नति र गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी स्तरोन्नति गरिने भएको  छ। टोखा–छहरे सुरुङको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने बजेटमा उल्लेख छ। 

बागमती प्रदेशका चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा चन्द्रागिरि, चित्लाङ, पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गर्ने, कुलेखानी–भीमफेदी सुरुङ मार्ग अध्ययन सम्पन्न गर्ने उल्लेख भए पनि आगामी आवमा बजेटमा व्यवस्था रहेको छैन। यस्तै चालु आवमा सिन्धुलीको मरिणमा नयाँ सहर विकास गर्न अध्ययन गर्ने, हेटौँडाको कर्रा र चितवनको नारायणी नदीमा तटबन्ध निर्माण गर्ने उल्लेख छ। 

बजेटसम्बन्धी प्रतिक्रिया 

बागमती प्रदेश सभाका पूर्वप्रदेश सभा सदस्य रमेश पौड्यालले बजेटमा धेरै सकारात्मक पक्ष समेटिएको बताउँदै कार्यान्वयन पक्ष सबल हुनुपर्नेमा जोड दिनुभयो। अनावश्यक सरकारी संस्था खारेज गर्ने निर्णय र कर्मचारीलाई विभिन्न नाममा दिइँदै आएको भत्ता खारेजी गर्ने निर्णय स्वागतयोग्य भएको पौडेलले बताउनुभयो। उहाँले बागमती प्रदेशका सन्दर्भमा दीर्घकालीन महत्वका योजनाहरू समेटिएको बताउनुभयो। 

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले समग्रमा लगानीमैत्री बजेट आएकाले स्वागतयोग्य भएको प्रतिव्रिmया दिनुभयो। लगानीलाई उत्पादनसँग जोड्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र औद्योगिक क्षेत्रलाई टेवा पुग्ने गरी बजेट आएको धारणा व्यक्त गर्नुभयो। 

उहाँले महिला उद्यमीलाई प्रोत्साहित गर्ने गरी बजेट आए पनि हस्तकलाको विकासमा बजेट मौन रहेको बताउनुभयो। उहाँले प्रदेशलाई जाने बजेट र कृषिमा बजेट वृद्धि राम्रो भएको प्रतिक्रिया  दिनुभयो।   

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले बजेटमा मयूरधाप तथा शक्तिखोर औद्योगिक क्षेत्रको‌ वातावरणीय प्रभाव मूल्याङ्कन तथा रुख कटान कार्यलाई अघि बढाउने गरी सम्बोधन हुनु सकारात्मक भएको प्रतिक्रिया  दिनुभयो। 

उहाँले भन्नुभयो, “स्वदेशी सिमेन्टको‌ खपत बढाउन ढलानमा आधारित सडक निर्माणलाई प्रोत्साहन गर्ने नीति स्वागतयोग्य छ। प्रशिक्षार्थीलाई तीन महिनाको न्यूनतम ज्याला सरकारले उपलब्ध गराउने व्यवस्थाले युवा जनशक्तिलाई सिपमूलक शिक्षातर्फ आकर्षित गर्ने र उद्योगहरूलाई प्रशिक्षार्थीलाई राख्न प्रोत्साहिन गर्ने छ।”