• १४ वैशाख २०८१, शुक्रबार

विपन्न घर परिवारलाई कुखुराको खोर वितरण

blog

मध्यविन्दु नगरपालिका –१ स्थित नवज्योति कृषक समूहका विपन्न परिवारलाई कुखुराको खोर वितरण गरिदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, जेठ १५ गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गरिब तथा विपन्न घर परिवारलाई कुखुराको खोर वितरण गरिएको छ । ग्रामीण क्षेत्रका विपन्न किसानहरुकोे आयआर्जनमा टेवा दिने उद्देश्यले मध्यविन्दु नगरपालिका –१ स्थित नवज्योति कृषक समूहका विपन्न २० घर परिवारलाई खोर वितरण गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो ।

विपन्न समुदायलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गर्न विपन्न किसानलाई करिब चार लाखको लागतमा निर्माण गरिएको खोरले विपन्न समुदायलाई आर्थिक टेवा पुग्ने समेत उहाँले बताउनुभयो । गण्डकी प्रदेश कृषि ज्ञान केन्द्र तनहुँको पोषण कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न परिवारलाई खोर वितरण गरिएको छ । 

कार्यक्रमले गरिव परिवारलाई घरखर्च चलाउन तथा बालबालिकालाई शिक्षा दिन थप सहयोग पुग्ने मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गरिव परिवारको आर्थिक समृद्धिका लागि हामीले विभिन्न कार्यक्रम गर्दैआएका छौं ।” आर्थिक विकास हुने हो भने गासँ बास र कपासका लागि समस्या पर्दैन, यसै पनि कृषकलाई आत्मनिर्भर बनाउनेतर्फ नगरपालिका सदैव लागिरहने बताउनुभयो ।

त्यस्तै नवज्योति कृषक समूहका अध्यक्ष रमेश भट्टराईले सहयोगका लागि आभार प्रकट गर्दै ग्रामीण भेगमा बसोबास गर्ने नागरिकको पोषणस्तर माथि उठाउने उद्देश्यले गरिएको काम प्रभावकारी हुने बताउनुभयो । “पहिला बजारतिर रोजगारका लागि जानुपर्ने बाध्यता थियो, अब भने घरको कामसँगै कुखुरापालन गरी आत्मनिर्भर हुनेमा विश्वस्त छौँ” कृषकको भनाइ छ ।