• १४ मंसिर २०८१, शुक्रबार

लुम्बिनी केबुलकार आजदेखि सञ्चालन

blog

बुटवल समाचारदाता

बुटवल, जेठ १५ गते । लुम्बिनी केबुलकारले बुटवलमा सोमबारदेखि आफ्नो व्यावसायिक कारोबार सुरु गर्ने भएको छ। केबुलकार प्रालिका तर्फबाट आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सो केबुलकारका अध्यक्ष चन्द्र ढकालले सोमबारदेखि व्यावसायिक रूपमा केबुलकार सञ्चालन गर्न लागिएको बताउनुभयो।  

बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबुलकारको लम्बाइ दुई किलोमिटर छ सय मिटर छ। यसको लागत साढे तीन अर्ब रुपियाँ रहेको बताइएको छ। लुम्बिनी केबुलकारमा ‘मोनोकेबुल डिट्याचेबल सिस्टम’ का २५ वटा ‘गोन्डाला’ रहेका र यिनले दैनिक छ हजार यात्रु ओसारपसार गर्न सक्ने अध्यक्ष ढकालले बताउनुभयो। अहिले परीक्षणका लागि १५ वटा ‘गोन्डाला’ प्रयोग गरिएको छ भने एउटा ‘गोन्डाला’ मा आठ यात्रुको क्षमता छ। तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न करिब १० मिनेटको समय लाग्ने बताइएको छ।