• १५ चैत २०८०, बिहिबार

प्रधानमन्त्रीलाई विज्ञको सुझाव : मेन्यु लिएर भ्रमणमा नजानुस्

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १४ गते । जेठ १७ देखि चार दिने भारत भ्रमणको तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विज्ञहरूले भ्रमणमा जाँदा भ्रमणको मेन्यु लिएर नजान सुझाव दिएका छन् ।

सो अवसरमा नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भारत भ्रमणमा नेपाल र भारतबीच उर्जासम्बन्धी भएका सम्झौताअनुसार कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । भारतले नेपालसँग ऊर्जासँग सम्बन्धित सम्झौता गरिसकेपछि कार्यान्वयन गर्ने चरणमा थप व्यवधान झिक्नेगरेको भन्दै यसबारेमा राजनीतिक तवरबाटै समाधान खोज्न उहाँले सुझाउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक अवस्थाबारेमा समाधानका लागि पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । नेपालले अहिले भोग्नुपरेका समस्याका बारेमा पनि छलफल गरी समाधान निकाल्न जरुरी रहेको उहाँको सुझाव छ । 

“दुई पक्षीय व्यापारमा जुन असन्तुलन भइरहेको छ, नेपालले धान्न नसक्ने स्थितिमा पुगेको छ, त्यसलाई सकारात्मक दिशामा लैजान गम्भीरतापूर्वक छलफल हुनुपर्छ” विज्ञ भट्टराईले थप्नुभयो, “हाम्रो सम्भावनाभित्र एउटा जलश्रोत हो, जलश्रोतको उत्पादन हिजोभन्दा आज तीव्र गतिमा भएको छ । विद्युत निर्यात गर्ने जुन सम्झौता हाम्रो बीचमा भएको छ, त्यसलाई त्यहीअनुसार कार्यान्वयन गरिनुपर्छ ।”

भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भइरहेको बताउनुभयो । उहाँले भारत भ्रमणमा परराष्ट्र मामिलामा नेपाली नेताहरू पनि एक छौँ भन्ने धारणा दर्साउन आवश्यक रहेको सुझाव दिनुभयो । बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै भारत भ्रमण बढी फलदायी हुने उहाँको सुझाव छ । नेपाल माग्ने देश जसरी लिस्ट (मेनु) लिएर जान नहुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भएको देखिन्छ । प्रधानमन्त्री नेपालको प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, समस्त नेपालको हितको निमित्त जाँदै हुनुहुन्छ । परराष्ट्र मामिलामा नेपाली नेताहरू पनि एक छौँ भन्ने धारणा दर्साउन आवश्यक छ ।”

राजनीतिक समाजशास्त्रका अध्यापक उद्धव प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण मात्रै भएको बताउनुभयो । उहाँले भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्धको सन्दर्भमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेसम्म दुई देशबीचको सहकार्यमा भइसकेका काम बाहेकका अन्य नयाँ योजनाहरूको बारेमा थप छलफल गर्न आवश्यक रहेको सुझाव दिनुभयो । अध्यापक प्याकुरेलले प्रधानमन्त्रीले लिएर जाने मेन्युले भारत भ्रमणमा काम नगर्ने बताउनुभयो ।