• ७ वैशाख २०८१, शुक्रबार

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

blog

कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, जेठ १४ गते । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । आइतबार धनगढीमा राष्ट्रिय युवा परिषद्को सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वयमा युवालय संस्थाले आयोजना गरेको दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री साउदले अब प्रदेश सरकारले युवालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनुभयो । अहिले सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणकै चरणमा रहेकाले त्यसमा युवालाई प्राथमिकता दिने बताउनुभयो । हामी आगामी वर्षको बजेट ल्याउँदैछौ भन्दै उहाँले युवालाई देश निर्माणमा सहभागिता गराउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार स्पष्ट छ भन्नुभयो ।

मन्त्री साउदले विगतमा राज्यका गलत ऐन, कानुन र नीतिका कारण सुदूरपश्चिममा गरिबी, अशिक्षा र भेदभाव बढेको बढेको पनि बताउनुभयो । मन्त्री साउदलाई सो अवसरमा डोटीकी स्वस्तिका खत्रीले प्रयोग गर्न मिल्ने सेनेटरी प्याड उपहार दिनुभयो । सेनेटरीको कुरा महिलाको मात्र होइन, पुरुषले अझ देश चलाउनेले गम्भीरतापूर्वक लिनुपर्छ भनेर प्याड उपहार दिएको खत्रीले बताउनुभयो । 

समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले कुसंस्कार हटाउन, युवा, महिला सशक्तीकरण गर्न, गर्भवती र बालबालिका लागि पोषण कार्यक्रम सुदूरपश्चिम र कर्णालीमा आवश्यक रहेको बताउनुभयो ।

युवालयका अध्यक्ष सन्तोष महर्जनले युवा भनेको जोस मात्र नभई होस भएका युवा भएको बताउनुभयो । सो महोत्सवमा युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिजस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई सो क्षेत्रका विज्ञबाट अभिमुखीकरण प्रदान गरिने जनाइएको छ ।

यसैगरी, लागूपदार्थ दुरुपयोगका कारण तथा असरकाबारेमा समेत प्रतिनिधिमूलक युवा सहभागीमाझ छलफल गरिने बताइएको छ । त्यस्तै सुदूरपश्चिममा भएका प्रतिनिधिमूलक युवाहरूमाझ राष्ट्रिय युवा नीति २०७२ परिमार्जन बारेमा पृष्ठपोषण सङ्कलन गर्ने योजना समेत रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरणका साथै सार्वजनिक शिक्षामा लगानीबारेमा चर्चा गर्ने योजना बनाइएको युवालयका अध्यक्ष महर्जनले बताउनुभयो ।