• १३ वैशाख २०८१, बिहिबार

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्र बनाइनुपर्छ : प्रधानमन्त्री

blog

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ । 

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अनुसन्धानमा आधारित मौलिक  उच्चशिक्षाको आवश्यकता रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– “प्राज्ञिक क्षेत्रमा तपाईँहरूले विकास र रूपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा  गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राध्यापक  अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावरणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । विश्वविद्यालयहरू पाठ्यक्रमहरू र पठनपाठनहरू सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताउनुभयो । 


प्रधानमन्त्रीले भन्नुभयो –“विश्वको उच्च शिक्षामा सूचना प्रविधिको विकासले मानव सुशासनको स्थापनमा कृत्रिम बौद्धिकताको विकास भइरहेको अवस्था छ । हाम्रा विश्वविद्यालयहरुले सूचना प्रविधिको भरपुर प्रयोग र विकास गर्ने गरी पठनपाठन गर्नु आवश्यक छ । रोजगारी र स्वरोजगारीको एउटा मुख्य क्षेत्र सूचना प्राविधिक बनिरहेको अवस्थामा हाम्रा विश्वविद्यालय पाठ्यक्रम र पठनपाठनहरू सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो बनाउन सकिने छ ।”

देशमा व्याप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मूल गर्दै सुशासन कायम गर्न लागिपरेको प्रधानमन्त्रीले बताउनुभयो ।  प्रचण्डले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार निर्मूल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ  महत्त्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ थियो ।

भारत भ्रमणका क्रममा २०१९ देखि रोकिएको व्यापार पारवहान सम्बन्धी सन्धि खुलाउने प्रयास हुने, हवाई रुट थप्ने विषयमा ब्रेक थ्रु गर्ने, वषौंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई सुचारु गर्ने, सीमा समस्या सम्बोधन गर्ने गरी सरकारले तयारी गरेको  छ ।

प्रधानमन्त्रीले भन्नुभयो –“मुलुकको अर्थतन्त्र संस्थागत भ्रष्टाचारले थिलथिलो बनेको छ । भ्रष्टाचारमुक्त सुशासन जनताको अपेक्षा हो । शैक्षिक संस्थाहरूले सदाचारको शिक्षा दिन आवश्यक छ । सुशासन र सदाचारको नमुनाको रूपमा विश्वविद्यालयहरू देखिनुपर्दछ । ”

साथै, प्रधानमन्त्री प्रचण्डले सरकार भर्खरै पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट निर्माणमा लागेको जानकारी दिनुभयो । उच्चस्तरीय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रका तमाम समस्यालाई समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । 

जटिल परिस्थितिका बीच नीति कार्यक्रम पारित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम अनुसारकै बजेट ल्याउने तयारीमा सरकार लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो –“निकै ठुलो जटिलताका बीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । नीति कार्यक्रम अनुसारकै बजेट होस् भन्नेमा सरकार लागेको छ । अहिले मुख्यतः ७५३ वटै पालिकामा कृषि उत्पादनमा वृद्धि गर्ने, युवाहरूलाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउने तयारीमा छौँ ।” 

जेठ १७ गते भारत भ्रमणमा जान लागेको जानकारी दिनु हुँदै प्रधानमन्त्री प्रचण्डले यो पटकको भारत भ्रमण अल्लि विशिष्ट र राष्ट्रिय हितलाई महत्वदिने खालको हुने विश्वास व्यक्त गर्नुभयो। भारत भ्रमणका क्रममा २०१९ देखि रोकिएको व्यापार पारवहान सम्बन्धी सन्धि खुलाउने प्रयास हुने, हवाई रुट थप्ने विषयमा ब्रेक थ्रु गर्ने, वषौंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई सुचारु गर्ने, सीमा समस्या सम्बोधन गर्ने गरी सरकारले तयारी गरेको बताउनुभयो । साथै, नेपालको अहितमा कुनै सम्झौता तथा सहमति नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।