• १२ वैशाख २०८१, बुधबार

विषयगत समितिहरूको सभापति चयन

blog

विषयगत समितिका नवनिर्वाचित सभापतिहरु शपथ लिँदै । तस्बिरः मुना हमाल

मुना हमाल 

सुर्खेत, जेठ १४ गते । कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । आइतबार भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । 

कर्णाली प्रदेश सभामा चार वटा विषयगत समिति छन् । प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेश मामिला समितिको सभापतिमा प्रदेश सभा सदस्य कल्याणी खड्का, सामाजिक विकास समितिको सभापतिमा घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिको सभापतिमा जितबहादुर मल्ल र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दुर्गबहादुर रावत चयन हुनुभएको छ । 

प्रदेश सभाको पहिलो बैठक चार महिनापछि समिति सभापतिको निर्वाचन भएको हो  । यसअघि सभामुख नन्दा गुरुङले विषयगत समितिका सदस्यहरू मनोनीत गर्नुभएको थियो । समितिका सदस्यबाट सभापतिमा एक–एक जना सदस्यलाई निर्वाचित गरिएको छ । सभामुख गुरुङले आइतबार नै नवनिर्वाचित समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । 

मिनी संसद्को रूपमा रहेका प्रदेश सभाका विषयगत समितिले प्रदेश सभाको भूमिकालाई प्रभावकारी बनाउन, नियमित र आकस्मिक कार्यलाई निरन्तर अघि बढाउन भूमिका खेल्छन् । यस्तै, प्रदेश सभाबाट समितिमा आएका विधेयकलाई परिमार्जन गर्ने, प्रदेश सभाका काम कारबाहीप्रति प्रदेशसभा सदस्यलाई जागरूक बनाउन तथा जिम्मेवार बनाउन र प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी, जबाफदेही बनाउन, प्रदेश सरकारका भएगरेका कामकारबाहीको अनुगमन मूल्याङ्कन गरी आवश्यक निर्देशन, रायसल्लाह दिने भूमिका महत्त्वपूर्ण जिम्मेवारी हुन्छ ।