• १५ वैशाख २०८१, शनिबार

कवि मोक्षको छन्दोबद्ध कविता सङ्ग्रह लोकार्पण

blog

गोरखापत्र समाचारदाता 

बुधबारे (झापा), जेठ १४ गते । झापाकी उदीयमान छन्द कवि मोक्ष खतिवडाको दोस्रो कृति भावविम्ब कविता सङ्ग्रह लोकार्पण भएको छ । बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानले बुधबारेमा एक कार्यक्रम आयोजना गरी छन्द कवि खतिवडाको कृति लोकार्पण गरेको हो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल, समालोचक विष्णुकुमार भट्टराई, प्राज्ञ शुभद्रा भट्टराई लगायत एक दर्जन साहित्यकारले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो । 

पछिल्लो समय छन्द लेखन हराउँदै गएको परिवेशमा लोकार्पण गरिएको भावविम्ब कृतिमा कवि खतिवडाका ७१ वटा छन्दोबद्ध कविता समावेश गरिएको छ । शान्तिनगरस्थित शान्ति आदर्श माविमा  शिक्षण पेसामा आबद्ध रहनु भएकी छन्द कवि खतिवडाले गत वर्ष मेरो स्वर्ग कविता सङ्ग्रह प्रकाशित गर्नुभएको थियो । 

सो अवसरमा वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलले नेपाली साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्य जटिल बनिरहेको अवस्थामा छन्द लेखनको अभियानलाई प्राथमिकता दिने काम प्रशंसनीय भएको बताउनु भयो । 

प्राज्ञ शुभद्रा भट्टराइले छन्दको प्रयोग गरेर आफ्नो साहित्यिक भाव पस्किने काम चानचुने अभ्यासबाट सम्भव नहुने धारणा व्यक्त गर्नुभयो । साहित्यकार जीवनाथ सुबेदीले कृतिको समीक्षा गदै नेपाली छन्दोबद्ध साहित्यको क्षेत्रमा भावविम्ब कृतिको प्रकाशनले सबै साहित्य अनुरागीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारीले नेपाली साहित्य सिर्जनाको क्षेत्रमा छन्द लेखन अभियानले प्राथमिकता पाउनु आम साहित्यिक जगतका लागि गौरवको विषय बनेको चर्चा गर्नुभयो । कृतिका प्रकाशक कृष्णप्रसाद खतिवडाले छन्दोबद्ध कविताको परम्परा घटिरहेको परिप्रेक्ष्यमा कृति प्रकाशन गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभयो ।

सो अवसरमा छन्द कवि मोक्ष खतिवडाले आफ्नो लेखनलाइ निरन्तरता दिने क्रममा जीवनका विविध भोगाइका साथै सामाजिक राजनीति, आर्थिक, कुसंस्कार, धर्म–संस्कृति लगायत मनमा उठ्ने गरेका भावलाई सङ्ग्रहमा समेट्ने प्रयास गरेको बताउनु भयो ।

प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलामकी साहित्यकार टिका घिमिरे, साहित्यकार जय भण्डारी लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।