हुम्ला समाचारदाता
हुम्ला, जेठ १४ गते । सिमकोट गाउँपालिकामा निजी गाडीले गाउँगाउँबाट बिरामी बोक्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य सेवा कार्यालय तथा सिमकोट गाउँपालिकासँग एम्बुलेन्सको व्यवस्था नहुँदा बोलेरो जिपले बिरामी बोक्ने गरेका छन् ।
सिमकोट गाउँपालिका–२ का जस बोहराले बिरामीलाई निजी गाडी झिकाएर अस्पताल लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो । त्यो पनि चर्को भाडा तिर्नुपर्ने अवस्था छ । सडक सुविधा नभएको बेला गाउँबाट बिरामी स्टेचर र डोकोमा बोक्नु पथ्र्यो ।
त्यस्तै घोडामा बोकाएर पनि बिरामीलाई अस्पतालसम्म लैजाने गरिएको थियो । अहिले सडक जोडिएपछि एक कल फोन गर्दा निजी गाडी बिरामी ओसार्न घरमै आउने गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी वडा नम्बर १ का स्याम्जोर लामाले गाउँमा बिरामी पर्दा डेढ घण्टा समय लाग्ने सदरमुकाम सिमकोटबाट गाडी झिकाएर बिरामीको उद्धार गर्नु परेको बताउनुभयो । सडक जोडिएका कारण बिरामी बोक्ने अन्य उपायभन्दा गाडी झिकाउने कार्य सजिलो छिटो छरितो हुने गरेको उहाँको भनाइ छ ।
यी दुईवटा वडामा मात्र नभई सिमकोट गाउँपालिकाको अन्य ३, ४, ७ र ८ वडामा पनि बिरामी बोक्नका लागि उस्तै अवस्था रहेको छ । यद्यपि बेथा लागेकी भर्गवतीको उद्धार भने गाउँपालिकाले गर्दै आएको छ ।
अन्यको हकमा ऋण सापट गरेरै भए पनि गाडी झिकाएर बिरामीलाई अस्पताल लैजाने गरिएको छ । खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले निजी गाडीको काम बिरामी ओसार्ने नभए पनि बाध्यताले गर्नु परेको बताउनुभयो ।
उहाँले गाउँगाउँमा कोही बिरामी भएमा रातिसमेत फोन आउने र गाडी पठाइदिन आग्रह गर्ने गरेको बताउनुभयो । बिरामी बोक्न एम्बुलेन्स हुनुपर्ने हो, तर पनि जिल्ला अस्पताल र गाउँपालिकाले बेवास्ता गरेको भनाइ स्थानीयको छ ।
ग्रामीण सडक राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण एम्बुलेन्सको व्यवस्था गर्न नसकेको पालिकाका पदाधिकारीहरू स्वीकार्छन् । एम्बुलेन्स नहुँदा बिरामी बोक्ने निजी गाडीको प्रयोगसँगै चर्को भाडा पर्ने गरेको गुनासो सर्वसाधारणको छ ।