अमरराज नहर्की
तनहुँ, जेठ १४ गते । बाँदर आतङ्कबाट पीडित तनहुँका किसान आन्दोलनमा उत्रिएका छन्। प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँको आयोजनामा शनिबार दमौलीमा बाँदर आतङ्क बन्द गर्नुपर्ने माग राख्दै आम सभा गरिएको छ।
खेतबारीमा लगाएको अन्नबाली, तरकारी र फलफूल बाँदरले सखाप पारेपछि किसान पीडित भएका हुन्। बाँदरले गर्दा पेसाबाट विस्थापित हुनु परेको र मानिसलाई आक्रमण गरेर घाइते बनाउने गरेको भन्दै किसान आन्दोलित भएका हुन्।
सभामा वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम बढिरहेको भन्दै किसानले पेसा छाड्नुपर्ने अवस्था आएको बताएका छन्। भानु नगरपालिका–५, नाबु्रङ्गका अर्जुनबहादुर शाहीले बाँदर आतङ्कको समाधान नगरी सरकारको देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना सफल नहुने बताउनुभयो।
बाँदरले बाली, फलफूल तथा तरकारी नष्ट पार्ने गरेकाले धेरै किसान गाउँ र पेसाबाट विस्थापित हुने क्रम बढेको उहाँको भनाइ छ। कृषि, पशुविज्ञ र कृषकलाई समेटेर सरकारले आयोग गठन गरी समस्या समाधानको बाटो पहिल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।
व्यास नगरपालिका–६, सिसाघाटका लालबहादुर पन्तले बाँदर नियन्त्रण नगर्ने हो भने किसानले पेसा छाड्नुको विकल्प नभएको बताउनुभयो। बन्दीपुर गाउँपालिका–३, होमबहादुर विकले सरकारले मान्छे बचाउनभन्दा बाँदर बचाउन लागेकाले समस्या निम्तिएको बताउनुभयो। विकले भन्नुभयो, “मान्छे बचाउने हो कि बाँदर बचाउने हो, बाँदर बचाउने हो भने मान्छे खान नपाएर मर्ने अवस्था आउन लागेको छ।”
सोही ठाउँ निवासी राममाया रानाले पहिला विस्तारै धपाउँदा पनि बाँदर टाढा भाग्ने गरेकोमा आजकल बाँदरले मान्छे धपाउने अवस्था आएको बताउनुभयो।
बाँदरले किसानका उत्पादन नष्ट गर्ने मात्रै नभई घरमा सुतेका अशक्त, अपाङ्गता भएका मानिसलाई आक्रम ण गरेर घाइते बनाउने गरेको गुनासो छ। प्रकृति पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधानले धेरै वर्ष पहिलेदेखि नै बाँदर नियन्त्रणका लागि माग राखेको उल्लेख गर्दै सरकारले वास्ता नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो।
बाँदरले किसानको बालीनाली नष्ट गर्दा त्यसको क्षतिपूर्ति पाउनुपर्ने, बाँदरबाट विस्थापित जनताको जमिनको मुआब्जा दिनुपर्ने, कुनै पनि मूल्य चुकाएर नीति बनाएर बाँदर आतङ्क रोक्नुपर्ने प्रधानको भनाइ छ। तनहुँमा मात्रै करिब ६० हजार बाँदर रहेको अनुमान रहेको अध्यक्ष प्रधानले बताउनुभयो। बाँदरले वनजङ्गलको बोटबिरुवाका मुना मात्रै नभएर चराचुरुङ्गीका बासस्थानसमेत सखाप पारेको मञ्चले जनाएको छ।