सर्लाही समाचारदाता
सर्लाही, जेठ १४ गते । केही दिनदेखि भइरहेको सामान्य वर्षामै सर्लाहीका भित्री सडक हिँड्नै मुस्किल पर्ने गरी हिलाम्मे भएका छन्।
आर्थिक वर्षको अन्तिममा कच्ची सडकमा माटो भर्ने तथा ग्राभेल हाल्ने काम भइरहँदा पानी परेपछि ती सडक झन खराब भएका हुन्। जिल्लाको दक्षिणी भेगका पालिकामा भित्री सडकको स्तरोन्नति हुन सकेको छैन्। माटो मात्रै रहेका भित्री कच्ची सडकमा पानी पर्ने बित्तिकै हिँड्नसमेत मुस्किल पर्ने अवस्था रहेको हरिपुर्वा नगरपालिका–४, का विक्रम यादवले बताउनुभयो। “दुई दिन एकैछिन परेको पानीले गाउँका सडक हिँड्न सक्ने अवस्थामा छैनन्,” उहाँले भन्नुभयो, “पैदल हिँड्दा वा मोटरसाइकल चलाउँदा चिप्लिएर घाइते हुने डर छ।”
यादवले आफूहरूको क्षेत्रमा दोस्रो पटक स्थानीय तह निर्वाचन भएर नयाँ जनप्रतिनिधि आउँदासमेत बाटोघाटोको अवस्था सुधार हुन नसकेको गुनासो गर्नुभयो। जिल्लाको दक्षिणी भेगका अधिकांश पालिकाका बासिन्दाले यस प्रकारको गुनासो गर्ने गरेका छन्।
मधेशका भित्री सडक त्यसै पनि साँघुरो र त्यहीँमाथि अहिले पानी परेर हिलाम्मे भएपछि आउजाउ प्रभावित बन्न पुगेको हो। बसबरिया गाउँपालिका–३, का रामध्यान रायले पूर्व–पश्चिम राजमार्ग क्षेत्रका पालिकामा भित्री सडक कालोपत्रे र ढलान भए पनि आफूहरूको क्षेत्रमा सडकको अवस्था दयनीय रहेको दुःखेसो पोख्नुभयो।
जनस्तरमै समेत चेतना नहुँदा दक्षिणी भेगका सडक सामान्य वर्षामै अवरुद्ध नै हुने अवस्था रहेको उहाँ बताउनुहुन्छ। “उत्तरी पूर्व–पश्चिम राजमार्ग क्षेत्रका पालिकामा पुग्दा भित्री सडक समेत चिल्ला देखिन्छन्, हाम्रोतिर तर सडकको अवस्था दयनीय नै छ, पालिकाहरूका प्राथमिकतामा समेत परेका छैनन्,” रायले भन्नुभयो, “भएका काम समेत बजेट सक्ने किसिमका मात्रै छन्। स्थानीय बासिन्दामा पनि चेतनाको स्तर कमजोर छ।”
यहाँ वर्षायाममा पूर्व–पश्चिम हुलाकी सडकसहित बाँके–सङ्ग्रामपुर, सलेमपुर–हीरापुर, बयलवास–त्रिभुवननगरसहित अन्य मुख्य सडक र पालिका मातहत पर्ने सडक असाध्य हिलाम्मे हुन्छन्। सडक खराब हुँदा सवारी दुर्घटनामा वृद्धि भएका छन्। गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले आफ्नो पालिकाभित्र पर्ने मुख्य सडक र आवतजावत नै प्रभावित हुने गरी हिलाम्मे हुने सडक लगभग स्तरोन्नति र ढलान गरिएको बताउनुभयो। “मेरो पालिकामा आउजाउ नै बन्द हुने गरी हिलाम्मे हुने सडक छैनन्, खराब भएका सडक निर्माण गरिसकेका छौँ,” उहाँले भन्नुभयो।