• १३ पुस २०८१, शनिबार

‘पूर्वाधार विकासमा फड्को’

blog

गौर समाचारदाता

गौर, जेठ १४ गते । गौर नगरपालिकाका प्रमुख शम्भु साहले एक वर्षको अवधिमा पूर्वाधार विकासमा फड्को मारिएको र यसलाई निरन्तरता दिँदै मुलुककै उत्कृष्ट १० नगरपालिकाको सूचीभित्र ल्याउन पनि प्रयासरत रहेको बताउनुभएको छ।

वर्षभरिका कार्य प्रगति पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले एक वर्षको अवधिमा मधेश प्रदेशमा पहिलो स्थान प्राप्त गरेको बताउनुभयो। विकास निर्माणको कार्य, बाटो ढलान, नयाँ ट्र्याक सञ्चालन, बाँध अतिक्रमण  हटाइएको, नाला निर्माण, बिजुलीको पोल सार्ने कार्य, सहरी विकास परियोजनाको अवरुद्ध कार्यलाई सुचारु गराइएको, तीन वटा पोखरीमा सूर्य मन्दिरको निर्माण भइरहेको, लालबकैया नदीको बाँधको चार स्थानमा आरसिसी ढलान गरिएको, धेरै दिनदेखि अलपत्र अवस्थामा रहेको झोलुङ्गे पुलको निर्माण कार्य पूरा गराएर उद्घाटन गरिएको उहाँले बताउनुभयो। 

यसैगरी विद्यालयहरूमा नियमित रूपमा निरीक्षण गरेर सुधार गर्दै ल्याएको, सिसवामा बर्थिङ सेन्टर, वडा नं. १ मा ल्याब सञ्चालन, प्रादेशिक अस्पतालमा सुधार, सरसफाइ नियमित रूपमा इरिक्साबाट फोहोर व्यवस्थापन, वारुण यन्त्र क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थालगायतका कार्य गरिएको उहाँले जानकारी गराउनुभयो। नगरवासीको साथ र सहयोग यसरी नै भइरहे गौर राइस मिलको जग्गालाई अधिग्रहण गरिने, सडक, नाला, बिजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ क्षेत्रको साथै बरहवा ताललाई पर्यटकीय क्षेत्रमा व्यवस्थित गराएर यहाँका व्यवसायिक क्षेत्रलाई समेत टेवा पु-याउने कार्य हुने प्रमुख साहले प्रतिबद्धता जनाउनुभयो।

सो पत्रकार सम्मेलनमा गौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले नगर प्रमुख साहको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारीको अथक मेहनत तथा नगरवासीको स्नेह र सद्भावका कारण गौर नगरपालिका मधेश प्रदेशमै उत्कृष्ट भएको कुरा नगरवासीका लागि गौरवको कुरा भएको  बताउनुभयो।