• ११ वैशाख २०८१, मङ्गलबार

आफ्नो शैली बुझाउँदै कलाकार

blog

काठमाडौँ, जेठ १४ गते । फिलिपिन्सका कलाकार आर्ट लोजना (आर्थर डी लोजाना) मिक्स मिडिया माध्यममा चित्र बनाउँदै अन्य कलाकारलाई आफ्नो कलाशैलीबारे बुझाउँदै हुनुहुन्थ्यो। वरिष्ठ कलाकार डा रघुनाथ शर्माले ल्यान्डस्केप तयार गर्नुभयो। त्यसैगरी डा मेले पिकालगायतका कलाकारले आफ्नो चित्रकला सिर्जनाको माध्यम र शैलीबारे बताइरहँदा नव कलाकारले निकै उत्सुकताका साथ सुनिरहेका थिए। 

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँमा आयोजित ‘वल्र्ड हेरिटेज आर्ट फेस्टिभल’ मा  विभिन्न ११ देशका कलाकार आआफ्नो कलाकृतिका साथ भेला भएका छन्।  उनीहरूले जिपी फाउन्डेसन आर्ट एन्ड कल्चर विभाग, मिथिला यें आर्ट ग्यालरी, होटल आर्ट र द आर्ट पिवत भारतको संयोजनमा  साताव्यापी रूपमा भइरहेको फेस्टिभलमा आयोजित कला कार्यशालामा आआफ्नो प्रतिभा देखाउने र एकअर्काको शैलीबारे बुझ्ने र हेर्ने अवसर पाएकामा निकै खुसी देखिन्थे। भारतको उदयपुरस्थित द आर्ट पिवटका संस्थापक एवं द वल्र्ड आर्ट माइगे्रसन कार्यव्रmमका निर्देशक राजेश यादवले भन्नुभयो “सम्पदाले भरिएको नेपालको राजधानीमा आफ्नो देशका कलाकार, कलाकृतिसहित सहभागिता जनाउन पाउनु निक्कै खुसीको कुरा हो।” उहाँले विश्वका कलाकारले सम्पदाहरूको स्वयम् भ्रमण गरेर नेपालका सम्पदालाई नजिकबाट नियाल्ने अवसर पनि पाएको बताउनुभयो। निर्देशक यादवको कलाकार टोलीमा चित्रकार, भिडियोग्राफर, साहित्यकार, कथावाचक, चलचित्र निर्मातालगायत ललितकलासँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको छ भने अन्य देशबाट कलाकारले आफ्नो चित्रकला, मूर्तिकलालगायतका कृति प्रदर्शनीका लागि पठाएर पनि सहभागिता जनाउनुभएको छ। 

मिथिला यें आर्ट ग्यालरीका संस्थापक एवं कलाकार श्यामसुन्दर यादवले यस महोत्सवले विश्वका कलाकारलाई नेपाली मठमन्दिर, सङ्ग्रहालय, दरबार, स्तूपा, चैत्य, डबली, फल्चाको अवलोकन गर्ने अवसर जुटाएको बताउनुभयो। 

कला महोत्सवमा किरण मानन्धर, मसुद आलम खान, गौतमरत्न वज्राचार्य, केलेचिरो किलिमोरी, क्रिस्टिना  सेजाने, डा चित्र सेनलगायतका कलाकारका कलाकृतिहरू आगामी आइतबारसम्म प्रदर्शनीमा राखिने छन्। ठमेलस्थित होटल आर्टमा नेपाल, भारत, फिलिपिन्स, थाइल्यान्ड, अस्ट्रिया, जापान, इजरायल, पाकिस्तान, कोरिया र टर्कीका कलाकारले तयार पार्नुभएको चित्रकला आज सकिँदैछ।