• ११ मंसिर २०८१, मङ्गलबार

भगवती मन्दिर परिसरलाई प्रदूषण मुक्त बनाइँदै

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, जेठ १४ गते । बागमती प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–५ को चण्डेश्वरी र पाँचखाल–९ को पलाञ्चोक भगवती मन्दिर परिसरलाई प्रदूषण मुक्त क्षेत्र घोषणा गर्ने गरी काम सुरु गरेको छ। डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत न्हुच्छे श्रेष्ठले प्रदेश सरकारको धार्मिक/ऐतिहासिक/पर्यटकीय/पुरातात्त्विक  महत्वका स्थानलाई प्रदूषण मुक्त बनाउने वार्षिक कार्यक्रम  अन्तर्गत मन्दिर परिसरलाई प्रदूषण मुक्त क्षेत्र घोषणा गर्ने काम सुरु गरिएको बताउनुभयो। 

उहाँले शनिबार बनेपास्थित चण्डेश्वरी मन्दिर परिसर सरसफाइ गरेर कार्यक्रम  सुरु गरिएको भन्दै विनियोजन भएको १० लाख रुपियाँमध्ये चण्डेश्वरी मन्दिर र पलाञ्चोक भगवती मन्दिर सरसफाइका लागि पाँच/पाँच लाख रुपियाँ प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले चण्डेश्वरी मन्दिर परिसर सरसफाइका लागि गत फागुनदेखि एक जना कर्मचारी नियुक्त गरिएको बताउनुभयो। जनचेतनामूलक सन्देश प्रवाह गर्न सूचना पाटी राख्ने, फोहोर हाल्न डस्टबिनलगायतका सामग्री खरिद गरिनुका साथै मन्दिरको उत्तरतर्फ बगैँचा निर्माण गरिने सहायक वन अधिकृत श्रेष्ठले बताउनुभयो। यस्तै पलाञ्चोक भगवती मन्दिर क्षेत्रमा सूचना पाटी राख्ने, मन्दिर परिसरमा वृक्षरोपण गर्नेलगायतका कार्यक्रम  रहेको छ।