दाङ, जेठ १३ गते । दाङको घोराही उपमहानगरपालिका चौघरामा रहेको प्रख्यात गोरक्ष या रत्ननाथ या चौघरा मन्दिर भक्तजनको मुख्य तीर्थस्थल बन्दै गएको छ। भगवान् गोरखानाथका शिष्य रत्ननाथबाट यस मठको निर्माण भएको मानिएको यो मन्दिर पछिल्लो समय सबैको आस्थाको केन्द्र बनेको छ।
दाङको आबादी पछि वाणिज्य राजा भएका थिए। उनका छोरा रत्न परीक्षक पनि राजा बने। राजा रत्न परीक्षक सिकार खेल्न गएका समयमा गोरखनाथको दर्शन पाएका थिए। यही गोरखनाथको दर्शन पछि, उनी सिद्ध बनेका थिए। यिनी नै पछि सिद्धरत्ननाथ बने। सिद्धरत्ननाथ कै सम्झनामा यो मठको निर्माण भएको हो। सिद्ध रत्ननाथ नामको पुस्तकमा वि.स. ८०९ मा स्थापित भएको भने तापनि यस मन्दिरको बारेमा अझै पनि अनुसन्धान भइरहेको छ। शिखर शैलीको यो मठ ६० फिट अग्लो र करिब २५८ गुणा २५ फिट वर्गाकारमा रहेको छ। यही मठमा ४ वटा पत्थरका सिंह मूर्ति चार कुनामा रहेका छन्। यस मन्दिरको गजुर सुनको रहेको छ।
यस मठमा गोरखनाथको १.५ फिट अग्लो सिंहासनमा बसेको मूर्ति, मच्छिन्द्रनाथको कालो प्रस्तरको १.५ फिट अग्लो उभिएको ४ बाहु भएको हातमा कमल लिएको निकै नै आकर्षक मूर्ति, सिद्धरत्ननाथको कालो प्रस्तरको १.५ फिट अग्लो सिद्ध आसनमा हातमा अमृत पान लिएको मूर्ति, आदिनाथको कालो प्रस्तरको ३ फिट अग्लो ४ बाहु भएको सिद्धरत्ननाथमा बसेको मूर्ति समेत गरी चार मूर्ति प्रमुख रूपमा रहेका छन्।
त्यस्तै भैरवको मूर्ति मन्दिरको चौथो कोठामा बालासुन्दरीदेवीको शस्त्र अस्त्र लिएको मूर्ति समेत रहेको छ। मठ सञ्चालनको लागि गुठी रहेको छ। साधुहरूको भोजन, पूजा आदी हुने गर्दछ। साथै अतिथि भवन र छात्रावास समेत छ। यस मठका मठाधिशले १ वर्षसम्म कम्पाउन्ड बाहिर जान नपाउने परम्परा रहिआएको छ। यस मन्दिरमा तान्त्रिकविधीले पूजा, अर्चना गरिन्छ। पहिले भैरव र भगवतीलाई पशु बलि दिने चलन भए पनि अहिले कुभिन्डो, मुला आदीको बलि दिइन्छ। फागुन महिनाको विजया एकादशीमा यहाँ भव्य मेला लाग्ने गर्दछ। हिन्दु, मुसलमान समान रूपमा यस मेलामा भाग लिने गर्दछन्। मुसलमानहरू हाजी रत्ननाथ बाबा भनी श्रद्धा पूर्वक दर्शन गर्दछन् र मेलामा साथ दिन्छन्। हिन्दु र मुसलमानको साझा तीर्थस्थलका रूपमा यस मठलाई स्वीकार गर्दै पूजा, पाठन र प्रार्थना गर्दछन्।