• २८ पुस २०८१, आइतबार

उद्यमी बनाउन बेकरी तालिम

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ ११ गते । हिमाली जिल्ला म्याग्दीको पश्चिममा पर्ने मालिका गाउँपालिकाको केन्द्र दरवाङमा स्थानीय जनतालाई उद्यमी बनाउन बेकरी तालिम सुरु भएको छ । मालिका गाउँपालिका –६, दरबाङमा उद्यमशीलताका लागि स्वरोजगारमूलक तालिम सुरु भएको हो ।

सिटिइभिटी र सम्मानित रोजगारका लागि सीप परियोजनाको आर्थिक सहयोगमा तालिम सुरुभएको हो । मुस्ताङको थासाङ गाउँपालिका –३ लेतेमा रहेको धवलागिरि प्राविधिक शिक्षालयको आयोजना तथा मालिका गाउँपालिका –६, दरबाङको समन्वय र व्यवस्थापनमा बेकरीसम्बन्धी तालिम सञ्चालन गरिएको छ । 

तालिम उद्घाटनका क्रममा मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले सीप सिकेर उद्यमी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमबाट सीप सिकेर त्यसलाई पूर्ण रूपले व्यवहारमा उतार्नुपर्ने बताउँदै उद्यमको क्षेत्रमा लागेर व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । 

जिल्ला समन्वय समिति म्याग्दीका सदस्य गौमती चापागाईँले तालिममा सक्रियतापूर्वक सहभागी भई सीप सिकेर व्यवसाय गर्नुपर्ने बताउनुभयो । धवलागिरि प्राविधिक शिक्षालयका संयोजक खड्क सुब्बाले आउने दिनमा दरबाङ क्षेत्रमा अन्य तालिमहरू समेत सञ्चालन गरिने जानकारी दिनुभयो । 

उद्यम गर्न चाहनेलाई गाउँपालिकामार्फत आवश्यक सीपमूलक तालिम तथा प्रविधिहरू सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । न्यु दरबाङ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ममसरा कार्की र चिउरीबोट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता गौतमले व्यवसाय गर्नेलाई सहकारीमार्फत आवश्यक कर्जा उपलब्ध गराइने बताउनुभयो । 

दरबाङ होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घका अध्यक्ष अमृत सापकोटाले आगामी १२ दिनसम्म सञ्चालन हुने सीपमूलक बेकरीको तालिममा मालिका गाउँपालिकाका ३० जनाले सहभागिता जनाएको बताउनुभयो । तालिमको धवलागिरि प्राविधिक शिक्षालयका प्रशिक्षक राजु लामाले सहजीकरण गरिरहनुभएको छ ।