• १५ चैत २०८०, बिहिबार

आर्थिक अभावले स्वास्थ्य उपचार गर्नै समस्या

blog

रोगका कारण उपचार गराइरहेका व्यक्ति । तस्बिर : मुना हमाल

मुना हमाल 

सुर्खेत, जेठ ११ गते । बराहताल गाउँपालिका –८ का ३८ वर्षीय मानबहादुर विश्वकर्मा ट्रमा सेन्टर काठमाडौँमा उपचारत हुनुहुन्छ । दायाँ हातमा क्यान्सर भएपछि उहाँले दुई वर्षदेखि उपचार गराइ रहनुभएको छ । आर्थिक अभाव भएपछि उपचार गर्न उहाँलाई समस्या भएको छ । 

उहाँको हातको अप्रेसन भएको छ । उहाँकी श्रीमती अस्मिता सुनारले आर्थिक अभावले उपचार गर्न कठिन भइरहेको बताउनुभयो । उहाँका अनुसार उपचारको क्रममा अहिलेसम्म करिब १६ लाख खर्च भइसकेको छ । उहाँले भन्नुभयो, ‘खर्च धेरै भइसक्यो । अहिले आफन्त, गाउँघरबाट, सबैले सहयोग दिएर उपचार भइरहेको छ । लगातार अस्पताल हिँड्न थालेको डेढ वर्ष भयो ।’

पालिकाले उपचारमा अहिलेसम्म एक लाख रुपियाँ सहयोग र  सहयोगका लागि सिफारिस दिएको उहाँले बताउनुभयो । उपचार गर्दा लागेको करिब १० लाख ऋण तिर्न बाँकी रहेको  उहाँको भनाइ छ । 

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका –८ मुम्राकी ३० वर्षीय बेलकुशा लुहार मिर्गौला पीडित हुनुहुन्छ । उहाँको एउटा मिर्गौला फेल भइसकेको छ । अर्को मिर्गौलाले पनि राम्रोसँग काम गर्दैन । आर्थिक अभावमा उहाँको राम्रोसँग उपचार हुन सकेको छैन । उहाँका श्रीमान् चन्द्र लुहार यतिबेला सहयोगका लागि गाउँपालिका र वडा कार्यालयमा सिफारिस बनाउन लाग्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘दुई वर्षदेखि उपचार गराइरहेको छु । मिर्गौला फेल भइसक्यो भनेर थाहा भएको एक वर्ष भयो ।  अर्को मिर्गौलाले राम्रोसँग काम गर्न छोडिसक्यो । एउटा मिर्गौला हाल्ने भनेका छन् । खर्च गर्ने पैसा नभएर घरमै छु ।’

उहाँका अनुसार बेलकुशाको उपचारमा पाँच छ लाख रुपियाँ खर्च भइसक्यो । सुर्खेत, नेपालगञ्ज, इन्डिया, काठमाडौँ गएर उपचार गराइसकेका उहाँले अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेको जानकारी दिनुभयो । 

दैलेखको भैरबी गाउँपालिका –४ का १० वर्षीय रोशन नेपालीको पनि आर्थिक अभावमा उपचार हुन सकिरहेको छैन । उहाँको तत्काल टाउकाको शल्यक्रिया गर्नुपर्ने छ । आर्थिक अभावका कारण उहाँको शल्यक्रिया हुन सकेको छैन । छ जनाको परिवार रहेको उहाँको परिवारमा उपचार खर्च मात्र नभएर घरपरिवारकै खर्च धान्न मुस्किल छ । रोशनका बुबा टेकेश नेपालीलेका अनुसार रोशन जन्मेदेखि नै बिरामी  हुनुहुन्थ्यो ।  सुरुमा पिठ्यूँमा दाना आयो । त्यसपछि आन्द्रामा इन्फेक्सन भयो भनेर आन्द्राको शल्यक्रिया गरियो । 

अहिले खुट्टामा समस्या देखिएपछि प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहनु भएको छ ।  टाउको ठुलो भएपछि जाँचगर्दा टाउकोमा पानी जमेको र तत्काल अप्रेसन गर्नुपर्ने डाक्टरले बताएका छन् । शल्यक्रियाका लागि तीन लाख रुपियाँ आवश्यक पर्ने उहाँले बताउनुभयो । 

दैलेखकै भगवतिमाई गाउँपालिका –४ मनघरका दानबहादुर बुढा घाँस काट्ने क्रममा रुखबाट लडेर अहिले भेरी अस्पतालमा उपचार गराइ रहनुभएको छ । उहाँको टाउको, छाती र हातमा गम्भीर चोट लागेको छ । शल्यक्रिया गर्नुपर्ने हुँदा आर्थिक अभाव भएको उहाँको परिवारले जनाएको छ । बहिनी भगवती बिसीले घरको आर्थिक अवस्था कमजोर हुँदा ऋण, आफन्त, साथी भाइबाट सहयोग उठाएर उपचार गरिरहेको बताउनुभयो । 

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका कारण जीवन बाच्नै नसक्ने अवस्थामा रहेका व्यक्तिहरूलाई उनीहरूको उपचारको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो ।