गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १० गते । नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेको स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ (विशिष्टिकृत) अवधारणा अनुसार विस्तार गरिने भएको छ ।
२०६८ सालमा काठमाडौँको सानोभ¥याङ स्थापना भएको चिकित्सा विज्ञान संस्थानमा हाल चिकित्सा शिक्षा महाविद्यालय र नर्सिङ् शिक्षा महाविद्यालय गरी दुईवटा विद्यामा मेडिकल शिक्षा पठनपाठन हुँदै आएको छ ।
संस्थानको ११ औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आवश्यक पूर्वाधार र प्रविधियुक्त बनाई ‘सेन्टर फर एक्सिेलन्स’ अवधारणा अनुरुप थप विस्तार गरिने बताउनुभयो ।
चिकित्सा विज्ञानमा दैनिक नयाँ प्रविधिको विकास भइरहेको धारणा व्यक्त गर्दै समय अनुकूल प्रविधि र पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो ।
मेडिकल शिक्षामा शिक्षामा पछिल्लो समय आविष्कार भएको र प्रयोग भएका प्रविधि उपलब्ध गरार्इ संस्थानलाई सर्वोकृष्ट मेडिकल शिक्षाको केन्द्र बनाउने तयारी भइरहेको सेनापति शर्माले जानकारी दिनुभयो।
सैनिक कल्याणकारी सोच २०३० अनुरुप कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयहरुमा बहालबाल सैनिक तथा आश्रित परिवारका सन्ततिका लागि ४९ प्रतिशत र सर्वसाधारणका छोरा–छोरीका लागि ५१ प्रतिशत कोटा निर्धारण गरिएको छ ।
चिकित्सा शिक्षामा देशकै अब्बल नतिजा निकाल्न सफल यस मेडिकल कलेजमा चिकित्सा शिक्षातर्फ ७३४ जना विद्यार्थी अध्ययनरत छन् । ५९० जना विद्यार्थीले अध्ययन पूरा गरी मेडिकल शिक्षामा योगदान पु¥याइरहेको संस्थानले जनाएको छ ।
त्यसैगरी, नर्सिङ् शिक्षातर्फ ११०९ जना विद्यार्थी अध्ययनरत रहेको र १०८२ जना विद्यार्थीले अध्ययन पूरा गरेको संस्थानले जनाएको छ ।
सम्बोधनकै क्रममा सेनापति शर्माले गैर नाफामूलक नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई विशिष्टीकृत बनाई प्रविधियुक्त बनाउन आवश्यक स्रोत साधन कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. श्रीकृष्ण गिरीले मेडिकल शिक्षामा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थाले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।
स्थापनको छोटो समयमा नै चिकित्सा शिक्षामा सेनाको मेडिकल कलेज देशकै अग्रणी संस्था बन्न सफल भएकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभयो ।
यसैगरी, समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डा. दिब्या सिंहले नेपाली सेनाले अनुशातीत र योग्य चिकित्सक र नर्सहरु उत्पादन गरेकोमा प्रशंसा गर्नुभयो ।
विपत व्यवस्थापन, उद्धारसँगै नेपाली सेनाले आम नागरिकको जीवन रक्षाका लागि गरिरहेको काम अनुकरणीय भएको धारणा सिंहले व्यक्त गर्नुभयो ।
समारोहमा चिकित्सा शिक्षातर्फ सर्वोकृष्ट नतिजा हासिल गर्ने रिया जसवाल, मनिषा दाहाल,अनुष्का कार्की, पार्वती दनै, रचना श्रेष्ठ, सजनी लामा, रन्जु अधिकारी, विनिता थापालाई मेडलसहित नगद पुरस्कार वितरण गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त यस मेडिकल कलेजले सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।