• १२ साउन २०८१, शनिबार

नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज : स्वर्णिम वाग्ले

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्ले ।

काठमाडौं, जेठ ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताउनुभएको हो ।

उहाँले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गर्नुभयो । उहाँले नवीनता, ऊर्जा, प्रेरणा र महत्त्वाकाङ्क्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ । हामी भन्छौँ, परम्परा धान्नलाई ल्याइएको दस्तावेज हो । र परम्परा धानिएको पनि छ । नवीनता, ऊर्जा, प्रेरणा, महत्त्वाकाङ्क्षा इत्यादिका कसीमा हामी अझ राम्रो गर्नसक्थ्यौँ होला ।’’

सांसद वाग्लेले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको पनि बताउनुभयो । उहाँले जेठमा ठुलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनः विचार गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘बजेटहरू अविश्वसनीय हुनुको कारण के पनि हो भने जेठमा सुन्निएको, अविश्वसनीय बजेट बनाउने, अनि माघमा चुपचापसँग साइजमा लिएर आउने । तसर्थ यसपालि यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह गर्छु । पूर्वाधारकै नमुनामा पनि हामीले पुनः विचार गर्नुपर्‍यो । पूर्वतयारी, लागत, सञ्चालनको ढाँचा इत्यादिमा हामीले नयाँ शिराबाट बहस गर्नुपर्ने हुन्छ ।’’

उहाँले नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने खालको बजेट आउनुपर्ने बताउनुभयो ।