काठमाडौं, ९ जेठ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीसहित मुख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेट गर्नुभएको हो ।
भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । अथाह सम्भावनाहरू भएर पनि सुदूरपश्चिम पछाडि परेको भन्दै उहाँले आयोगको ध्यानाकर्षण गराउनुभयो ।
भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताउनुभयो । कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेका सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदूरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको औँल्याउनुभयो ।
सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन आयोगका उपाध्यक्ष श्रेष्ठले सुझाव दिनुभयो ।
‘‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै सङ्घीयता आएको हो,’’ उहाँले भन्नुभयो, ‘‘त्यो कुरा हामी सबैले बुझ्नु परो, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो ।’’