• १४ मंसिर २०८१, शुक्रबार

नेपालमा अमेरिकी हस्तक्षेप बढ्यो : प्रवक्ता पौडेल

blog

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चा प्रवक्ता दुर्गा पौडेल । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, जेठ ९ गते । राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले नेपालमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभएको छ । पहिले भारतबाट वा राजनीतिक दलका माध्यमबाट अदृश्य रूपमा हुने हस्तक्षेप एमसीसी संसदबाट अनुमोदनपछि पछिल्लो समय सिधै हुने गरेको बताउनुभएको हो । 

प्रगतिशील पत्रकार सङ्घ नेपाल दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले नेपालमा बढेको अमेरिकी संक्रियता नेपालसँगै छिमेकी देशका लागि समेत खतरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, "नेपालमा बढेको अमेरिकी सक्रियता सार्वभौमिकता राष्ट्रसँगै छिमेकी देशका लागि समेत खतरा छ र अमेरिकाको यो नीतिप्रति राजनीतिक नेतृत्वसँगै जनता सजक हुनुपर्ने बेला आएको छ । उहाँले अहिले नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद् र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गरेको भनाइ राख्नुहुँदै एमसीसी परियोजनालाई त्यसैको पछिल्लो उपज भएको बताउनुभयो । 

यसमा बेलैमा सचेत नहुने हो भने ठुलो क्षतिसँगै नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुने खतरा बढेको उहाँको भनाइ छ । उहाँले अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय जनमोर्चाले मेची–महाकाली अभियान सञ्चालन गरेको भन्दै अभियानमा जोडिन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, "हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादका विरुद्धमा यही जेठ १ गतेदेखि जेठ १५ गतेसम्म मेची–महाकाली अभियान सुरु गरेको छ । अभियानमा सबै जोडियौँ र दवापव सिर्जना गरौँ ।" 

उहाँले नेपालको राजनीतिक स्थिति र आवश्यकता अनुसार गणतन्त्र र राष्ट्रियताको रक्षा गर्दै सङ्घीयता खारेज गर्नुपर्ने बताउनुभयो । यस्तै, सङ्घीयताकै कारण देशको आर्थिक अवस्था कमजोर भएको भन्दै सङ्घीयता खारेज नगरे देशमा सङ्कट पर्ने खतरा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, "हाम्रो जस्तो सानो देशका लागि सङ्घीयता आवश्यक छैन । सङ्घीयतालाई खारेज गरौँ । लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धिलाई संस्थागत गर्न ध्यान दिऔँ ।" 

यस्तै, सङ्घ र स्थानीय सरकार चुस्त बनाउने, अधिकार सम्पन्न मितव्ययी संरचनामा ध्यान दिनसके सङ्घीयता आवश्यक नहुने उहाँले बताउनुभयो । अभियान एकैसाथ जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बागलुङ बजारबाट सुरु भएको अभियान जेठ १५ गते काठमाडौं र बुटवलमा गर्ने तयारी राष्ट्रिय जनमोर्चाको रहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो ।