• २८ पुस २०८१, आइतबार

सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चापागाईँद्वारा बधाई

blog

काठमाडौँ,  जेठ ९ गते । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यही जेठ २ गते उहाँले सगरमाथाको आरोहण गर्नुभएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराउनुभएको थियो । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झण्डा हस्तारण गरेको थियो । सोहीअनुरूप उहाँले आरोहणपश्चात् रेडक्रसको झण्डा फहराउनुभएको जनाइएको छ । 

यसैबीच रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँले सगरमाथा आरोही मिङमार शेर्पालाई विशेष बधाई एवं धन्यवाद दिनुभएको छ । गत वैशाख २८ गते दोस्रो कार्यकालमा लागि चयन हुनुभएका महासचिव चापागाईँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “म अरोही शेर्पाले सगरमाथा चुम्न गर्नुभएको अथक प्रयास, मेहनत र उच्च साहसको हृदयदेखि नै सरहना गर्दछु । यसक्रममा आरोही शेर्पाले रेडक्रसको झण्डा सगरमाथामा फहराउनुभएकामा विशेष बधाई एवं धन्यवाद दिन चाहन्छु । यसले मानवीय सेवामा अहोरात्र तल्लीन रेडक्रसका स्वयंसेवकलाई अझ ऊर्जा, उत्प्रेरण र आत्मविश्वास बढ्ने छ ।” मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसका आधारभूत सिद्धान्तलाई थप बलियो बनाउने उहाँले प्रतिबद्धतासमेत जनाउनुभएको छ । 

आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले सगरमाथा आरोही शेर्पालाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपी भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्छ ।” रासस