• १३ वैशाख २०८१, बिहिबार

तीन महिनामा तयार भयो कालीगण्डकीमा बेलिब्रिज

blog

कालिगण्डकी नदीमा निर्माण गरिएको बेलिब्रिज । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी(बेनी), जेठ ८ गते । 
म्याग्दीको सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडाको बगरफाँट बस्तीलाई जोड्ने बेलिब्रिज तीन महिनामा तयार भएको छ । पुल निर्माण भएसँगै बगरफाँट बस्ती सिँधा सडक सञ्जालसँग जोडिएको छ । कालिगण्डकीमा पुल नहुँदा बगरफाँट बस्तीका सर्वसाधारणले वर्षौँदेखि सास्ती भोग्दै आएका थिए । 

बेनी नगरपालिका –८ कालिपुलदेखि बगरफाँट बस्तीलाई जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण गत फागुन १७ गते थालिएको थियो । बेलिब्रिजका लागि नदी किनारको वारिपारि पक्की वाल निर्माण गरिएको छ ।

बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग चार महिना भित्र योजना सम्पन्न गर्नेगरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो  । ठेक्का सम्झौता म्यादभन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको छ ।

बेनी जोमसोम सडकअन्तर्गत पोखरेबगरस्थित कालिगण्डकी नदीमाथि निर्माण गरिएको हाल प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई स्थानान्तरण गरिएको हो । ५४ मिटर लामो बेलिब्रिज राख्नका लागि मेशिनरी वाल सहित ग्याविन झाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिएको छ ।

नदी कटानबाट पुललाई संरक्षण गर्न केही काम बाँकी रहेको निर्माण कम्पनीका सब ओभरसियर सनम शाहीले बताउनुभयो । उहाँले बेलिब्रिज जोड्ने काम सकिएको र पुल देखि सडकसम्मको भागलाई सम्म्याउने मात्र काम बाँकी रहेको र अबको दुई हप्ता भित्र सवारीसाधन आवतजावतका गर्न मिल्ने बताउनुभयो ।

पुल निर्माण भएपछि बगरफाँट बस्ती सिँधा यातायातमा जोडिएको जलजला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो । उहाँका अनुसार पुल निर्माण भएसँगै वर्षौँदेखिको समस्या हट्नुका साथै करिब तीनसय घरधुरी लाभान्वित भएका छन् ।