• १२ असोज २०८१, शनिबार

सदरमुकाममा पानीको समस्या

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ८ गते । जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा बजारसहित रुकुम कारागारमा एक सातायता खानेपानी समस्या भए पनि समाधानको प्रयास हुन सकेको छैन ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदीबन्दीलाई थप समस्या भएको छ । पिउने पानी, शौचालयको प्रयोग र सरसफाइका लागि पानीको अभाव हुँदा छिमेकबाट मागेर काम चलाउँदै आएको छ । कारागारमा पानीको समस्या नहोस् भनेर पानीको मुहानबाट सिधा लाइन जोडिए पनि गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि पानीको समस्या भएको हो ।

मुसीकोट नगरपालिका–१ का अनिल बुढाले हप्ता दिनयता घरमा जडान गरिएको खानेपानी धारामा पानी आउन छोडेको बताउनुभयो । सदरमुकाममा खानेपानीको अभाव भएपछि सहिद मैदान र टटेलामा रहेका धारामा पुगेर स्थानीयले पानी ल्याउन बाध्य भएको बताइन्छ । 

खानेपानीको अभाव हुन थालेपछि खलङ्गामा डेरा गरी बस्ने विद्यार्थी, कर्मचारी र व्यापारी थप प्रभावित भएका छन् । टाढा पुगेर पानी बोक्नुपर्ने भएकाले उनीहरू समस्यामा परेका हुन् । 

सदरमुकाममा खानेपानी वितरण गर्दै आइरहेको मुसीकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मुख्य पाइपलाइनमा समस्या आएकोले पानी आपूर्ति हुन नसकेको जनाएको छ । 

संस्थाका महासचिव महेन्द्र गौतमका अनुसार जिल्ला हुलाक कार्यालयनजिकै बाटो र घर निर्माण गरिरहेकाले बारम्बार माटो फालिदिने गरेकाले पाइप भाँचिएको छ । जसका कारण मुसीकोटको खलङ्गा बजार, कारागार, सेरिगाउँ, सल्ले पीपलनेटा, रावलबारा, ढाङ्गीचौर, मठलगायतका क्षेत्रमा खानेपानीको समस्या देखापरेको हो । एकीकृत कार्यालय भवन निर्माण, सडक निर्माण र केही व्यक्तिका घर बनाउने व्रmममा जथाभाबी माटो फालिएपछि खानेपानीको पाइपलाइनमा क्षति पुगेको हो । 

महासचिव गौतमले पाइप मर्मतको सामग्री काठमाडौँबाट ल्याउनुपर्ने भएकाले काममा ढिलाइ भएको बताउनुभयो । संस्थाले मुसीकोटका एक हजार ५६ घरधुरीमा खानेपानी वितरण गर्दै  आएको छ ।