काठमाडौं, जेठ ७ गते। सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ । वि.सं. २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष पूरा भएकाले गणतन्त्रका पन्ध्र वर्षको समीक्षासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति २०८० गठन गरिएको छ । जसमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राज्यमन्त्रीहरु, काठमाडौं महानगरका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतकहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सदस्य तथा गृह सचिव सदस्य सचिव रहनुभएको छ ।
समितिले जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । जसअनुसार जेठ १४ गते सञ्चारमाध्यममार्फत गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद र जनचेतनामूलक कार्यक्रम र गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने सामग्री प्रकाशन–प्रसारण गरिने छ ।
सोही दिन सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रक्तदान कार्यक्रम आयोजना गर्नेछ भने सबै पक्षको सहभागितामा सार्वजनिक तथा ऐतिहासिक स्थलको सरसफाइ र डेंगी रोगविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
जेठ १४ गते नै विभिन्न आन्दोलन आन्दोलनका शहीद तथा बेपत्ताका परिवार र घाइतेलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लास्तरका फरक क्षमता भएका विद्यार्थीहरूले अध्ययन गर्ने विद्यालयमा शैक्षिक तथा उपयुक्त हुने खेलकुद सामग्री वितरणलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।
जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिने छ भने सबै सरकारी कार्यालय, महत्त्वपूर्ण स्थल, विदेशस्थित नेपाली दूतावास तथा आम जनताका घरघरमा साँझ दीपावली भर्न आह्वान गरिने मन्त्री शर्माले जानकारी दिनुभयो । गणतन्त्र दिवसकै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय गरिएको छ । जेठ १६ गते रेडियो तथा टेलिभिजनबाट जागरणमूलक गीत प्रसारण गर्ने तालिका तय गरिएको छ ।
नेपाल सरकारले सबै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । सबै स्थानीय तहमा पनि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्षको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस भव्य बनाउन अनुरोध गरिएको नेपाल सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
नेपाल सरकारले पन्ध्र वर्षे उपलब्धि समेटेर पुस्तिका नै प्रकाशन गर्ने तयारी पनि थालेको छ । जेठ १६ गते साँझ टुँडिखेलमा गणतान्त्रिक सांस्कृतिक साँझको आयोजना गर्ने तयारी पनि सरकारले गरेको छ ।