• १३ मंसिर २०८१, बिहिबार

काफल बेचेरै मासिक एक लाखभन्दा बढी आम्दानी

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ ७ गते । पाल्पा देउगीकी ३४ वर्षीय मीना सारूको दैनिकी आचेल अलि भिन्न छ । झिसमिसे नहुँदै बिहान ४ बजे उठेर घरको काम सक्नुपर्ने त छँदै छ तर सिजनको व्यापारका लागि बुटवल धाउनुपर्ने अर्काे काम पनि अहिले थपिएको छ । पाँच जनाको परिवारलाई हातमुख जोर्ने जिम्मा उहाँको काँधमा छ ।

“४ बजे उठेपछि घरको काम बिहान ६ बजेसम्म सक्छु र झिसमिसेमै डोको बोकेर जङ्गल जान्छौँ, म मात्रै होइन छिमेकीहरू पनि,” उहाँले भन्नुभयो–डोकोमा काफल बटुलेपछि बोकेर यहाँ आउँछौँ क्षणभरमै बिक्री हुन्छ ।

जेठको चर्को घाम हुदाहुँदै पनि असिनपसिन हुँदै काफल बेच्दै गर्दा उहाँ बुटवल–९, कालिकानगर, टिचर पथमा भेटिनुभयो । उहाँ भन्नुहुन्छ, “कमाउने अरू कुनै आधार छैन, दिनदिनै काफल टिपेर बेच्नका लागि आउने गर्छु ।”

बुटवलमा चैत महिनादेखि जेठको अन्तिम सातासम्म काफलको राम्रो व्यापार हुने गरेको छ । देउगीको काफल डोकोमा बोकेर करिब दुई घण्टा पैदल हिँडेपछि बल्ल बुटवल जाने मूल सडक सिद्धार्थ राजमार्गमा पुगेर बस चढ्ने गरेको सारूको भनाइ छ ।

उहाँले अहिले काफलको सिजनमा दैनिक करिब चार हजार रुपियाँ आम्दानी गर्ने गरेको र एक महिनामा करिब एक लाख ३० हजार रुपियाँ काफल बेचेरै कमाएको बताउनुभयो ।

मीनाकै गाउकी हीरा सारूको कथा पनि उस्तै छ । मीना र हीरा सँगसँगै घरको काम सकेर काफल टिप्न जङ्गलमा पुग्छन् र जङ्गलमा ठुला–ठुला रुख भएकाले काफल टिप्न उहाँहरूलाई निकै समस्या छ । “रुख चढ्न गाह्रो छ, कुनै कुनैमा चढ्न सकिँदैन तर सधैँ यही काम गर्नु परेपछि जसरी पनि काफल टिप्छाैँ,” हीरा सारूले भन्नुभयो । 

उहाँका श्रीमान् शेरबहादुर सारू गाउँमै खेती किसानी गर्नु हुन्छ । उहाँले आफ्नी श्रीमतीलाई काफल टिप्ने काममा सघाउँदै आउनुभएको छ । काफल बेचेर आएको आम्दानीले छोराछोरीलाई पढाउने र घर खर्च पनि चल्ने गरेको छ ।

पाल्पाको जङ्गलबाट काफल टिपेर बुटवल बजारमा बेच्दा उहाँहरूले मानाको १६० देखि २२० रुपियाँसम्ममा बिव्रmी गर्ने हुने गरेको छ । हीराले काफल बेचेर आफ्नो पाँच जनाको परिवार पाल्दै आउनुभएको छ । 

चैतदेखि जेठसम्म यसरी काफल बेच्ने सिजन भएकाले पाल्पाका विभिन्न क्षेत्रबाट काफल बेच्न बुटवल आउनेको सङ्ख्या धेरै छ । गाउँमा काफलको मूल्य कम भएपछि धरै आम्दानी गर्ने उद्देश्यले उहाँहरू बुटवल आउने गरेको बताउनु हुन्छ । उहाँहरूले हरेक वर्ष यो अवधिमा काफल बेच्ने गरेको र अरू समयमा झन् गाउँमा ऐँचोपैँचो खेती किसानीमा रमाइरहनुभएको छ । वन जङ्गलमा पाइने काफल आम्दानीको स्रोत बन्न थालेपछि उहाँहरूले घरको बारीमा समेत काफलका बोट रोप्न थालेको मीनाले बताउनुभयो ।