काठमाडौं, जेठ ६ गते। सांसद डा आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभएको छ। 
आज यहाँ आयोजित सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालको १२औँ केन्द्रीय साधारणसभामा महासङ्घका अध्यक्षसमेत रहनुभएका डा. देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अवस्था विगतको तुलनामा उल्लेख्य सुधार आए पनि सरकारले लिएको लक्ष्य हासिल गर्न विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो। यसका लागि ‘मिडवाइफ’ शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ। 
“सन् २०३० सम्म मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने र सोका लागि १० हजार पाँच सय ९० ‘मिडवाइफ’ तयार गरिसक्ने लक्ष्यबमोजिम हाल सञ्चालन भएका कार्यक्रम पर्याप्त छैन, त्यसैले विशेष कार्यक्रम आवशयक छ”, उहाँले भन्नुभयो। 
महिलालाई सम्मानजनक सेवाको पहुँचमा पुर्याउन स्थानीयस्तरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि महासङ्घका प्रदेश र जिल्लाका प्रतिनिधिलाई उहाँले आह्वानसमेत गर्नुभयो। 
साधारणसभामा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले महासङ्घ मातृ मृत्युदर न्यूनीकरणमा विशेष योगदान पु¥याएको बताउनुभयो। साथै समाज कल्याण परिषदका कोषाध्यक्ष विनय लामाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा महासङ्घका महासचिव रविन्द्र बहादुर प्रधानले महासङ्घको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुनिल श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो। 
महासङ्घका मधेस प्रदेश अध्यक्ष कमलेशकुमार मण्डलले मधेसमा सञ्चालित कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। साथै उपाध्यक्ष विष्णुराज नेपाल, गङ्गालक्ष्मी अवाल, ओमकला गौतम, कविता इटनी, भावना शाहीलगायतले महासङ्घका विगतमा भएका कार्यक्रमको समीक्षा र आगामी कार्यक्रमका रणनीतिबारे सभामा मन्तव्य राख्नुभएको थियो।
साधारणसभामा महासङ्घका ३१ जिल्लाका ८० जना प्रतिनिधिहरुको सहभागिता थियो। महासङ्घले स्थानीय गैरसरकारी संघ संस्थासँग समन्वय गरी महासङ्घको सम्बन्धित उद्देश्य हासिल गर्नका लागि विभिन्न काम गर्दै आएको छ। महिलाको प्रजनन स्वास्थ्यको अवस्था सुधारका लागि महासङ्घले काम गर्दै आएको छ। 
महासङ्घ अन्तर्राष्ट्रियस्तरमा ‘ह्वाइट रिवन अलाइन्स’को नेपाल प्रतिनिधि सदस्य हो। अलायन्समा विश्वका १४ वटा देश सदस्य छन्। अलायन्सले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपाललाई ‘मदर अफ ह्वाइट रिवन अलाइन्स’को सज्ञाले पुरस्कृत समेत गरेको छ। महासङ्घले नेपालमा सुरक्षित मातृत्वसम्बन्धी चार वटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना समेत गरिसकेको छ। रासस
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                