• १३ मंसिर २०८१, बिहिबार

आँधीखोलाको सरसफाइ अभियान प्रभावकारी बन्दै

blog

वालिङ ९ स्थित आँधीखोलामा सरसफाइ गरिंदै ।

राधाकृष्ण डुम्रे

वालिङ, जेठ ६ गते । वालिङबाट सुरु भएको आँधीखोला सरसफाइ अभियान जिल्लाभर सुरु भएको छ । जिल्लाको मध्ये भागबाट बग्ने आँधीखोलको मात्रै होइन अन्य खोलानालाको पनि सरसफाइ अभियानमा युवाहरु लागेका हुन् । 

वालिङबाट २१ औँ हप्ता अगाडि सुरु भएको अभियानमा जुट्नेको सङ्ख्यासमेत बढ्दो छ ।

धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलाको अस्तित्वलाई जोगाउन केहि युवाहरु मिलेर आँधीखोला सरोकार मञ्च गठन गरि सरसफाई अभियान सुरु गरेका हुन् । पछिल्लो समय वालिङमा बजारीकरण तथा मानिसको जनघनत्व बढेसँगै धार्मिक महत्वको आँधीखोला सरसफाई विर्सजन स्थल बन्दै गएको छ । 

आँधीखोलालाई सफा तथा स्वच्छ राखी धार्मिक गन्तव्यको रुपमा विकास गर्नका लागी आजभन्दा ६ महिना अगाडि आँधीखोला सरोकार मञ्चमार्फत सरसफाइ अभियान सञ्चालन गरिएको अभियन्ता प्रकाश अर्यालले जानकारी दिनुभयो । २१ हप्तासम्म आईपुग्दा यहाँका विभिन्न समुह, क्लब, सहकारी, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो । वालिङ ८ सुर्कौँदीबाट सरसफाइ अभियान सुरु गरिएको थियो । 

आँधीखोलाको सभ्यता जोगाउनका वालिङ १३ का युवाहरु पनि जुटेका छन् । यस्तै, शिवालय मन्दिर परिसरबाट गत हप्ता सुरु भएको अभियानमा युवाहरुको राम्रो उपस्थिती छ । युवाहरुको सक्रियतामा हामीले हप्ताको दुई घण्टा आँधीखोला सरसफाइ गर्न र सचेतना कार्यक्रम गर्न जुटेका छौं, युवा अर्जुन गौतमले भन्नुभयो । युवाहरुको सक्रियताले सार्थकता पाउनेमा आफूहरु विश्वस्त रहेको बताउनुहुँदै गौतमले आँधीखोला संरक्षणका लागि सवै जुट्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै, वालिङ १ मा पनि आँधीखोला तथा मिर्दिखोला सरसफाइ अभियान तिव्र पारिएको छ । रामबाच्छा बजार भएर बग्ने अर्मादीखोलाको सरसफाइमा बजारबासी जुटेको वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनुभयो । उता फेदीखोलामा पनि युवाहरुको सक्रियतामा फेदीखोलाको सरसफाइ कार्यलाई तिव्रता दिइएको छ । युवाहरुको सक्रियतामा सुरु भएको अभियान तेस्रो हप्तामा पुगेको पुष्पराज शर्माले जानकारी दिनुभयो । 

यता आँधीखोला सरोकार मञ्चले आँधीखोला सरसफाई राख्नका लागी सरसफाई अभियानसँगै जनचेतनामुलक माईकिङ समेत गरी नागरिकस्तरमा चेतनाको विकास गर्ने प्रयास गरिरहेको छ । 

श्रवणकुमारको मातापिताको आँसुबाट उत्पत्ति भएको आँधीखोलाको धार्मिक महत्व रहेतापनि सहि संरक्षण तथा सम्वर्द्धन हुन नसक्दा खोलाको महत्व कम हुँदै जाने, खोलामा भएका जलचर प्राणी सङ्कटमा आउने र वातावरणीय प्रदुषण हुने भन्दै युवाहरुले सरसफाई तथा संरक्षण अभियान थालेका हुन् ।