• ८ वैशाख २०८१, शनिबार

उदासीनताको लामो लर्को

blog

कसैले उसलाई भनेको छ, ‘अब अनुकूल भए मात्र भेट्ने, हाम्रा लागि सीमित कुरा गर्ने ठाउँ त छैन ।’ सोच्छ, हो कि क्या हो ? दायाँबायाँ हेर्छ पनि । हुल–भिड–कोलाहल–कर्कश ध्वनि–अनेक मान्छेहरू... ! यस्तैयस्तै अनेक रूपहरू उसका अगाडि उभिन्छन् कहिले त, कहिले एउटा लामो लर्को बनेर जान्छन् । यी सबैमा आफूलाई छाम्छ– ओह, कति एक्लो ! कति दुख्दो ! कुनै काव्यिक उपमा छैन, हाललाई । ऊ टाउको निहुराएर हुलसँगै एक्लै भए पनि बग्दै–बग्दै जान्छ, कता–कता, कहाँ–कहाँ...!

०००

– तिमी फेरि अर्धविक्षिप्ततामा परेका हौ ?

– तिम्रो यो शब्दहीन हेराइले यही जनाइरहेको छ, है ।

– तिमीलाई कुनै पीडा छ हो ?

– तिम्रो मौन हुनुको अर्थ र कारण के हो ?

– तिमी यति निस्पृह किन हुँदै छौ ?

– तिमीबाट तिम्रो आकर्षक मुस्कान एक्कासि कसरी बिलाए छ ?

– भन के कारण तिमी यति एक्लिँदै छौ ?

– केही त भन ।

– तिम्रो मुटुभित्र के चल्दै छ ?

– तिमी त्यति निरास मान्छे त होइनौ पक्कै पनि, तर जति आज देखिइरहेका छौ ।

– हाम्रो कुरा सुनि त रहेका छौ नि ?

– भन...बोल...भन...!

०००

ऊ आँखा चिम्लेर दुई कान दुई हातले थुन्छ । ध्वनि बन्द हु्न्छ । अनि आँखा खोलेर हेर्छ । अगाडि अगिका शब्दवाहक कुनै पनि आकृति छैनन् । खोइ, कता हराएछन् ? कता बिलाएछन् ? ऊ दायाँबायाँ हेर्छ । यो भिड...। यो मान्छे...। यो कोलाहल...। साँच्ची उसका लागि एउटा उदासीनताको लामो लर्को बनेर लखेटिरहेको भान हुन्छ, तर उसलाई भाग्नु छैन । भाग्नु पनि कहाँ र ? जहाँ गए पनि उही त हो...। सम्झना...पीडा...वेदना...केहीबाट पनि उन्मुक्ति छैन । अनि उसलाई एक्कासि लाग्न थाल्छ, ऊ साँच्ची विक्षिप्तताको वृत्तमा भुमरिँदै छ । साँच्ची, मान्छे किन विक्षिप्त हुन्छ ? के पीडा सहन नसकेर हो ? उसले आफूले आपैmँलाई प्रश्न गर्छ । त्यति नै बेला आपूmभित्रको कसैले उसको यस प्रश्नमा उसैलाई उत्तर पनि दिन्छ, ‘मान्छे पीडा सहन नसकेर होइन, बिर्सन नसकेर विक्षिप्त हुन्छ ।’

०० 

ऊ भिडबाट तर्किएर एकातिर उभिन पुग्छ । हल्ला अलि पर सर्छ । केही साउतीको शब्द उसको कर्णकुहरभित्र पस्छ । शब्द त होइन, शब्दमा रहेको भावले उसलाई जिज्ञासाबद्ध बनाउँछ । शब्दवाहकतिर हेर्छ । एक युवक, जसको अनुहार र पहिरन हेर्दा महिनौँ ननुहाएर पानीदेखि तर्सिने प्राणी जस्तो देखिन्छ । कपाल लट्टा परेको । आँखा दुई कोप्चे गालाभित्र धसिएका । ओठ कलेटी परेको । लुगा मैलो भएर च्यातिने उपव्रmममा देखिएको । यी सबै दृश्यले त्यो युवक सद्दे नभएर बहुला हुनुको परिचय दर्शाइरहेको छ । त्यो बहुला युवक एउटा खोपाभित्रको गणेशको मूर्तिलाई हात जोडेर प्रार्थनामा केही भन्दै छ, ‘हे ईश्वर, मुटु पनि तिमीले नै बनाएका हौ र भाग्य पनि । फेरि पनि किन मुटुमा जो छ, ऊ भाग्यमा छैन ?’

यो वाक्यांशमाथि उसले घोरिएर सोच्छ, यो भनेको के ? भाग्य...मुटु...हुनु...नहुनु...के हो ? पछि सोच्दै जाँदा थाहा लाग्छ, त्यो बहुला युवक प्रेममा विक्षिप्त बनेको रहेछ...पक्कै पनि उसकी प्रेमिका उसको मुटुमा अहिलेसम्म छ, तर भाग्यमा छैन । मुटु र भाग्य बनाउने ईश्वरै हुन् । यसैले ईश्वरप्रति उसको गुनासो प्रार्थनीय बनेको रहेछ । यही नै उसले खुट्याउन पुग्छ । खुट्याउन त खुट्याउँछ, तर यो वाक्यांश उसैमाथि पनि चरितार्थ भएको हो कि...लाग्न थाल्छ । यही सोचेर उसले त्यो बहुला युवकतिर हेर्छ, अनि त्यसको नजिक पुगेर केही वार्ता गर्ने जोहो गर्दछ ।

– भाइ, तिमीले यो किन भनेको ?

त्यो युवकले पहिला उसलाई तलदेखि माथिसम्म हेर्छ । केही नबोली हेरिरहन्छ । सम्भवतः उसले पनि आफ्नो एकान्तलाई अङ्गीकार गरेको होला र यसमा कसैले बाधा नदेओस् भन्ने उसको चाहना हो । उसको प्रश्नशील हेराइ यथावत् देखेर त्यो बहुला युवक उत्तर दिन तयार हुन्छ ।

– हेर्नुस् न दाइ, मैले कस्तोसँग प्रेम गरे छु, जसलाई म सबै कुरा बिर्सेर सम्झने गर्दछु, ऊ भने मलाई नै बिर्सेर सबै कुरा सम्झने गर्दछ । यसैले मलाई कसैले सोधोस् न, प्रेम यथार्थमा के हो ? यसमा पूर्ण विश्वासका साथ भन्ने छु, प्रेम कठोर, स्वार्थजन्य निर्लज्ज भाव हो ।

– किन र ?

– प्रेममा किन एक जनाचाहिँ पीडाले ग्रस्त हुन्छ, अर्कोचाहिँ आनन्दले दिन कटनी गर्छ, दाइ ?

– हेर, यसमा कसैले भनेको छ के भने प्रेममा यस्तो हुने गर्दछ ः एक जना कुरा गर्नलाई छटपटिन्छ, अर्को आनन्दको निद्रा सुत्छ, हो कि होइन त भाइ ?

– हो दाइ, अनि तपाईंलाई थाहा छ होला, मर्ने मान्छे त एक दिन केही नभनीकनै मरेर जान्छ, तर दिनहुँ त त्यो मर्ने गर्दछ, जसले आपूmलाई भन्दा बढी अरू कसैलाई चाहने गर्दछ ।

– भाइ, यो तिम्रो प्रेमकथा बडो मार्मिक छ र तिमी कुरा त सहीसही नै गर्दै छौ, तर तिम्रो शारीरिक अवस्था देख्दा भने...किन ?

– शरीरको के कुरा र ? शरीरभित्रको नदेखिने दुःखले शरीरबाहिरको देखिने दुःखले भन्दा धेरै नै बढी पीडा पु¥याउने गर्दछ ।

– तिमी यति धेरै दुःखी र पीडित हुनाको कारण...? 

– म दुःखी होइन हजुर, एक्लो भएको छु यो जीवनको मेलामा...।

– हेर भाइ, जीवन सबैको आफ्नो आफ्नो हुन्छ र सोच पनि आफ्नो आफ्नो हुन्छ । यसैले जीवन बुझ्न सकिएछ भने एक्लोमा पनि मेला हुने गर्दछ र यदि बुझ्न सकिएनछ भने मेलामा एक्लो भइन्छ, होइन र ?

– त्यो त हो दाइ, तर मेरो स्थितिमा फरक छ...।

– के फरक छ ?

– यही...कोही चाहन्छ कसैलाई अपनाउनका लागि, कोही चाहन्छ कसैलाई एक्लोपनाबाट बचाउनका लागि, मलाई पनि कसैले चाहेको हो केवल आफ्नो मन बहलाउनका लागि...।

अब भने पक्का थाहा हुन्छ, त्यो युवक प्रेमका कारणबाटै विक्षिप्त बनेको हो र यसरी एकोहोरो प्रलापमा बगिरहेको छ । उसले आपूmभित्रको विराट् एक्लोपनालाई बिर्सन पुग्छ र त्यस बहुला युवकतिर उन्मुख हुन्छ ।

– जीवन एउटै वृत्तमा भौँतारिएर हिँड्नु आपूmमाथि नै पीडा थोपर्नु जस्तै हुन्छ । तिमी यसरी किन भौँतारिँदै, बरबराउँदै हिँडिरहेका छौ, भाइ ?

– उसले कहाँ छोडेको हो र मलाई आनन्दले मर्नका लागि, उसले छोडेकै हो मलाई छटटिएर जिउनलाई ।

– अब जसले यसरी छटपटाएर छोडेको हो भने त्यसलाई सम्झिएर तिमी किन दुःखी हुन्छौ त भाइ ?

– उफ् ! टाढा रहन स्वीकार छैन÷साथै रहन अधिकार छैन÷चलन पनि ईश्वरको कस्तो हो यो÷मिल्नु नै छैन भने मिलाउँछ किन ? 

उसले कतै पढेको कविताको अंश एकोहोरो भएर त्यसले बरबराउँछ । त्यसले बरबराएको यो वाक्यांश अभिधामूलक नभए पनि उसले बुझ्छ, केटो पक्कै प्रेममा दुःखी भएको छ । तैपनि केही सोध्न उचित मानेर उसले सोध्छ पनि ।

– यो तिमी के भन्दै छौ, मैले त केही पनि बुझ्न सकेको छैन ?

उसले नबुझेर होइन, अझ केही जान्नलाई पुनः प्रश्न गर्छ । त्यो युवकले उसलाई पहिला यसो हेर्छ, कतै यो मनुवाले जिस्क्याउनलाई प्रश्न त गरेको होइन ? त्यस्तो केही नदेखेपछि बिस्तारै बोल्न थाल्छ ।

– दाइ, मैले सबै दुनियाँलाई छोडेर, जसलाई समय दिएको हुँ नि, आज उसैसँग केवल मलाई छोडेर सबैका लागि समय छ । अब म उनीसँग होइन; समयसँग यो प्रश्न लिएर युद्धरत हुने छु, द्वन्द्व गर्ने छु, प्रेम यति दुख्ने भए किन गराएको ? हेरिरहनुहोस्...यस प्रश्नका लागि युद्ध गर्ने छु...। किन ? तपाईंलाई थाहा छ दाइ, किन ?

त्यस युवकको यो प्रश्न नबुझेरै उसले पनि सोध्छ, सोध्नुअगाडि अनेक विम्ब बनाउँछ, तर विम्ब अमूर्त भएर उसको मथिङ्गलमा मडारिन थाल्छ, यसैले धेरै नसोची सोधिहाल्छ ।

– थाहा छैन भाइ, किन ?

त्यो युवक एकफेर केही सोच्छ, पछि बिस्तारै बोल्न थाल्छ । बोल्न लाग्दा त्यसको आँखा एकोहोरो भएको देखिन्छ । पक्कै त्यसले केही कथा आफ्नो बताउने छ, उसलाई यही लाग्न थाल्छ ।

– किनभने दाइ, यसबारे एउटा कथा छ, यो कथा पक्कै पनि कुनै बिछोड प्रेमीले सूक्ष्म रूपमा कुँदेको हुनु पर्छ । सुनाउँछु, सुन्नुहोस् र बुझ्नु्होस्...‘एउटा भँगेराले सेतो गुलाफसँग प्रेम गर्दछ, तर गुलाफले भँगेरालाई भन्छ...जबसम्म म रातो हुने छैन, तबसम्म प्रेम मबाट हुने छैन । भँगरो प्रतीक्षाका लागि गुलाफको काँडामा सुत्न पुग्छ र त्यसको काँडाबाट रक्ताम्मे हुन पुग्छ । भँगेराको रगतबाट गुलाफ रातो भएपछि बोल्छ...अब म तिमीलाई प्रेम गर्दछु, तर त्यति बेलासम्म भँगेरो मरिसकेको हुन्छ...।’ यसको अर्थ के हो, थाहा छ दाइ ? यसको अर्थ हो, यही स्थिति हो, अचेलको प्रेमको, जसलाई सम्मान गर, ऊ त्यति नै चासोहीन हुन पुग्छ...। 

के भन्ने ? युवक शिक्षित मात्र होइन, दार्शनिक गुणको पनि परेछ । साधारण प्रश्नलाई पनि कथाको माध्यमले दार्शनिक पाराले दिँदै छ । उसले आफ्नो एकान्तलाई एकफेर बिर्सिन पुग्छ । कताकता नियति र परिस्थिति आपूmसँग मिल्न लागेको देखेर ऊ पनि केही भन्न उद्यत हु्न पुग्छ । जीवनप्रति व्यापक दर्शनलाई एकातिर पन्छाएर एक्लिनुको यथार्थलाई उसले सहेर त्यस युवकप्रति धन्य हुनुको दृष्टि फाल्दै भन्न चाहन्छ, ‘धन्यवाद भाइ, तिमीले जीवन बाँच्नुको अठोटलाई प्रक्षेप गरेका छौ ।’ तर बहुला युवक कति बेला, कति बेला त्यहाँबाट बिलाइसकेछ । कतै यो उसैको आत्मप्रतीक त होइन ?

०००

उसले आफ्नो टाउको आकाशतिर फर्काउँछ । आकाशबाट सूर्य बिलाइसकेको छ । साँझ हुँदो अँधेरो साम्राज्य पैmलाउने तरखरमा छ । पूmल बनेर ताराहरू टिलपिलाउन लाग्दै छन् । उसभित्रको उदासी केही मत्थर भएको बोध हुन्छ । ऊ फर्कन्छ आजको यो उदासीनताको लामो लर्कोलाई छोडेर । फर्कनु छँदै छ, साँझ गुँड फर्किएको पन्छी जस्तै भएर । भोलि फेरि नयाँ सूर्य उदाउने छ, नयाँ सोच लिएर दिन आरम्भ हुने छ तर आजको बाँच्नु भने...? कतै बिर्सिने भएर र कतै दुख्ने भएर रहिरहने छ । यो सोचेर आफ्नो सँघारमा पनि पुग्नु उसलाई अघिको त्यस बहुला युवकको सम्झना बेतोडले आउन थाल्छ र ऊ यस सम्झनालाई अन्ततः एउटा वाक्यांशमा उपमा दिएर दैलोभित्र प्रवेश गर्छ, ‘दुनियाँको भिडमा मान्छे सबै कुरा जति नै बिर्सिन पुगे पनि, जति नै राम रमाइलोमा हराए पनि, तर एक्लोमा ऊ उसलाई नै सम्झने गर्दछ, जसलाई ऊ मुटुदेखि नै प्रेम गर्दछ ।’    

Author

रोशन थापा ‘नीरव’