• १२ वैशाख २०८१, बुधबार

प्राथमिकतामा परेन जग्गा वर्गीकरण

blog

नरेन्द्र ढकाल 

गोरखा, जेठ ६ गते । जिल्लामा जग्गा वर्गीकरणको काम नहुँदा सर्वसाधारण मर्कामा परेका छन्। आफ्नो क्षेत्रभित्रको जग्गा वर्गीकरण गरी पठाउन केन्द्रले स्थानीय तहलाई निर्देशन दिए पनि अधिकांशले अहिलेसम्म वर्गीकरणको काम टुङ्ग्याएका छैनन्। 

जग्गा वर्गीकरणका लागि स्रोतसाधनको कमीले गर्दा काममा ढिलाइ भएको स्थानीय तहहरूको दाबी छ। अहिले अधिकांश स्थानीय तहले काम सुरु गरिसकेको जनाएका छन्। आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भन्नुभयो, “अहिले वडा वडामा प्राविधिक पठाएर सर्वेक्षणको काम भइरहेको छ। उक्त कार्य सकिएपछि छिट्टै बैठक बसेर यसलाई टुङ्ग्याउँछौँ।” उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तीन वडामा सर्वेक्षणको काम सकिएको छ। सात वडा भएको सो पालिकामा चार वडामा वर्गीकरणको काम हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो। 

धार्चे गाउँपालिकामा भने वर्गीकरणको काम सुरु भएको छैन। केही दिनपछि वर्गीकरणका लागि टोली पठाउने तयारी गरिएको उक्त गाउँपालिकाले जनाएको छ। आरुघाट गाउँपालिकाले जग्गा वर्गीकरणका लागि आवश्यक प्रव्रिmया अघि बढाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले भन्नुभयो, “हामी यो आर्थिक वर्षभित्र वर्गीकरण पूरा गर्छौं।”

सदरमुकामको गोरखा नगरपालिकाले भने काम सुरु गरेको छैन। “नगर कार्यपालिकाको बैठक दुई चार दिनमा बस्दै छ,” नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले भन्नुभयो, “जग्गा वर्गीकरणबारे पनि छलफल गर्ने हाम्रो तयारी छ। बैठकको निर्णय अनुसार काम अघि बढ्छ।”

यता पालुङटार नगरपालिकामा भने जग्गा वर्गीकरणको काम सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो। त्यसलाई छिट्टै अन्तिम रूप दिने उहाँले बताउनुभयो। सिरानचोक गाउँपालिकाले भने बजेट अभावका कारण काम सुरु गर्न सकेको छैन। आवश्यक बजेट विनियोजन गरी आगामी आर्थिक वर्षमा मात्र जग्गा वर्गीकरणको काम सुरु गर्ने गाउँपालिकाका सूचना अधिकारी अहमददिन मियाँले जानकारी दिनुभयो। भीमसेन थापा गाउँपालिकामा पनि वर्गीकरणको काम अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीको भनाइ छ। सबै वडामा धमाधम काम भइरहेको उहाँले बताउनुभयो। गण्डकी गाउँपालिकामा भने जग्गा वर्गीकरणकै व्रmममा छ। प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले भन्नुभयो, “जेठ १५ सम्म सक्ने योजना छ।”

यस्तै बारपाक सुलीकोट गाउँपालिकाले वर्गीकरणको काम दुई/चार दिनपछि सुरु गर्ने जनाएको छ। जग्गा वर्गीकरणका लागि मापदण्ड पास गरी काम अघि बढाउने तयारी गरेको सहिद लखन गाउँपालिकाले जनाएको छ। केही दिनपछि सर्वेक्षणका लागि टोली घटाउने उक्त गाउँपालिकाको तयारी छ। अजिरकोट गाउँपालिकाको मापदण्ड अनुसार प्रव्रिmया सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीले जानकारी दिनुभयो। सरकारले गत वर्ष जेठ २७ गते नियमावली जारी गर्दै देशभरका जग्गा १० वटा क्षेत्रमा वर्गीकरण गर्न निर्देशन दिएको थियो। उक्त निर्देशन जारी भएसँगै तत्कालका लागि १० वटा क्षेत्रमा जग्गा वर्गीकरण हुन नसक्ने भन्दै चौतर्फी विरोध आएपछि मङ्सिर २३ सम्म कृषि र गैरकृषि क्षेत्रमा जग्गा वर्गीकरण गर्न मालपोत कार्यालय र नापी विभागलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको थियो।