• २७ पुस २०८१, शनिबार

सुत्केरी, अशक्त र अपाङ्गलाई निःशुल्क एम्बुलेन्स सेवा

blog

बन्दीपुर गाउँपालिकाले सञ्चालमा ल्याएको एम्बुलेन्स सेवा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ ३ गते । 
तनहुँको बन्दीपुर गाउँपालिका सुत्केरी, अशक्त तथा अपाङ्गता भएकाले स्वास्थ्य संस्थामा जाँदा र आउँदा निःशुल्क एम्बुलेन्स पाउने भएका छन् । स्वास्थ्य सूचकाङ्क सुधारका लागि यो सुविधा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

सुत्केरी, अशक्त तथा अपाङ्गतासँगै जो आर्थिक रूपमा विपन्न परिवारका बिरामीलाई समेत एम्बुलेन्स निःशुल्क प्रदान गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।  गाउँपालिकाले मङ्गलबारबाट सुरु गरेको  एम्बुलेन्स सेवा उद्घाटनको कार्यक्रम अध्यक्ष थापाले सो जानकारी दिनु भएको हो  । आफ्नै एम्बुलेन्स नहुँदा अन्यत्रबाट मगाउनुपर्ने बाध्यता रहेकोले एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाको आफ्नो एम्बुलेन्स नहुँदा समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जाने गरेकाले एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाको उपाध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो । बन्दीपुर अस्पतालको नाममा राजश्व छुटसहित गाउँपालिकाले १९ लाख ९१ हजार ४७० रुपियाँमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिनुभयो ।

यसैबीच बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले सेवा विस्तार गर्दै दन्त चिकित्सा सेवा सुरु गरेको छ । दाँतको सफाइ, दाँत भर्ने, जरादेखिको उपचार, कृत्रिम दाँत हाल्ने तथा तार बान्ने र सबै किसिमका दन्त सम्बन्धी समस्याहरूको नयाँ प्रविधिबाट उपचार गरिने अस्पतालले जनाएको छ । एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । स्वास्थ्य संस्थामा सहज पहुँचको लागि एम्बुलेन्सले मद्दत पुग्ने विश्वास गरिएको छ ।