• ६ जेठ २०८१, आइतबार

करोडौँका स्वास्थ्य सामग्री अलपत्र : पर्याप्त जनशक्ति नहुँदा असहज

blog

पर्वत समाचारदाता 

पर्वत, जेठ ३ गते ।  पर्वतको कुस्मामा रहेको पर्वत अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा रहेका करोडौँ मूल्यका स्वास्थ्य सामग्रीसमेत प्रयोगविहीन बनेका छन्। 

१५ शय्या क्षमताको अस्पतालमा पुरानो दरबन्दी अनुसारका स्वास्थ्यकर्मीसमेत नहुँदा सामान्य रोगका बिरामीसमेत बाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ। अस्पतालमा गम्भीर बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर, आइसियु सञ्चालन गर्नसमेत समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुक्मिना अधिकारीले बताउनुभयो। 

अस्पतालमा ‘भेन्टिलेटर’ सञ्चालनका लागि आवश्यक पर्ने करोडौँ मूल्यका सामग्री प्राप्त भए पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा स्टोरमै थन्काएर राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार एउटा भेन्टिलेटर सञ्चालनका लागि एक जना विशेषज्ञ डाक्टर, एक जना एनेस्थेसियोलोजिस्ट, एक जना स्टाफ नर्स र एक जना सहयोगी आवश्यक पर्छ। डा. अधिकारीका अनुसार प्रदेश तथा सङ्घीय स्वास्थ्य मन्त्रालयमा बारम्बार अनुरोध गर्दा सुनुवाइ भएको छैन।  अस्पतालमा तीन वर्षअघि प्रदेश सरकार र विभिन्न संस्थाबाट ‘भेन्टिलेटर’ जडानका लागि आवश्यक पर्ने सामान प्राप्त भए पनि जडानसमेत हुन सकेको छैन। अहिले अस्पतालमा ओपिडी र इमर्जेन्सीमा आएका बिरामी हेर्न पर्याप्त डाक्टर नहुँदा अन्य सेवा सुरु गर्न समस्या भएको डा. अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “हामीलाई ओपिडीमा आएका बिरामी हेर्नसमेत समस्या छ। १५ शय्याका लागिसमेत कम हुने जनशक्तिले ५६ शय्या सञ्चालन गर्नुपर्ने बाध्यता छ।” 

अहिले अस्पतालमा रहेका सात वटा भेन्टिलेटर चलाउन सकिने हालतमा भए पनि जनशक्तिनहुँदा एउटा पनि चलाउन नसकिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो। “हामीसँग रहेका सात वटा भेन्टिलेटर चलाउन २८/३० जना जनशक्ति आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “दरबन्दी थप नभएसम्म एउटा भेन्टिलेटरसमेत चलाउनसकिएको छैन।” अहिले अस्पतालमा आठ जना डाक्टर, ११ जना हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र अनमी गरी २१ जनाले सिङ्गो अस्पताल चलाइरहनु परेको अस्पताल प्रशासनले जनाएको छ।  

अहिले अस्पालमा दैनिक करिब दुई सय जना ओपिडीमा र करिब २० जनासम्म इमर्जेन्सीमा बिरामी आउने गरेका छन्। १५ शय्याको अस्पतालबाट ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्नका लागि विभिन्न निकायमा पहल गरिए पनि हालसम्म स्वीकृति पाउन नसकेको मेडिकल सुपरिन्टेन्डेन्ट अधिकारीले बताउनुभयो। आइसियु र भेन्टिलेटर सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट एक करोड ६९ लाख र विभिन्न संस्थाको सहयोग गरी करिब पाँच करोडभन्दा बढीका सामग्री अस्पतालमा यसै रहेका छन्।