• १२ पुस २०८१, शुक्रबार

शिक्षक धर्नामा, पठनपाठन ठप्प

blog

ढल्केबर समाचारदाता

ढल्केबर, जेठ ३ गते  । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति नमुना माध्यमिक विद्यालयको पठनपाठन एक सातादेखि ठप्प छ। विद्यालयका नमुना अनुदान तथा निजी स्रोतका शिक्षक तलबभत्ता माग गर्दै अनिश्चितकालीन धर्नामा बसेपछि विद्यालयको सम्पूर्ण पठनपाठन अवरुद्ध भएको हो। 

विद्यालयका १९ जना शिक्षक तथा कर्मचारी वैशाख २४ देखि अनिश्चितकालीन धर्नामा बसेका छन्। २०७८ साउनदेखि तलबभत्ता नपाएको उहाँहरूको भनाइ छ। शिक्षक राजकिशोर महराले तलबभत्ताका लागि पटक पटक मौखिक र लिखित जानकारी गराउँदा पनि विद्यालय प्रशासनले तलबभत्ता दिन बेवास्ता गरेपछि बाध्य भएर धर्नामा बस्नु परेको बताउनुभयो। तलबभत्ता नपाउँदा साधारण जीवनयापनमा आर्थिक सङ्कट भएको बताउँदै उहाँले तलबभत्ता नपाएसम्म धर्ना कार्यक्रम  जारी राख्ने जानकारी दिनुभयो। 

लामो समयदेखि शिक्षक तथा कर्मचारी धर्नामा बसेका भए पनि समस्या समाधानको प्रयास कतैबाट भएको छैन। विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटका अनुसार धर्नामा बसेका शिक्षकले तलबभत्ता पाएपछि मात्र धर्ना स्थगित गर्ने अडानमा बसेकाले समस्याको निकास निस्कन नसकेको हो। नमुना अनुदानका शिक्षकलाई तलबभत्ता दिन गाउँपालिकाले रकम रोकेको र निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयसँग तत्काल पैसा नभएको उहाँले बताउनुभयो। 

बटेश्वर गाउँपालिका शिक्षा शाखाका प्रमुख रामलाल महतोले विद्यालयको निजी स्रोत र नमुना अनुदानका शिक्षक तथा कर्मचारीलाई नियमतः गाउँपालिकाबाट तलबभत्ता उपलब्ध गराउन नसकिने बताउनुभयो। निजी स्रोतका शिक्षकलाई विद्यालयको आन्तरिक आम्दानीबाट तलब खुवाउनुपर्ने बताउँदै उहाँले विद्यालयमा देखिएका शिक्षक र प्रधानाध्यापकबिचको विवाद मिलाउन सहजीकरण गरिरहेको जानकारी दिनुभयो। 

यता विद्यालयका शिक्षक तथा कर्मचारी तलबभत्ताको माग गर्दै धर्नामा बसेपछि विद्यार्थी पनि आन्दोलित छन्। विद्यार्थी भने नियमित कक्षा सञ्चालनको माग गर्दै आन्दोलित भएका हुन्। पठनपाठन नियमित हुनुपर्ने माग गर्दै विद्यार्थीले बिहीबारदेखि विद्यालय प्रशासनविरुद्ध दिनहुँ नाराबाजी गर्दै आएका छन्। विद्यार्थीले प्रधानाध्यापक र प्रशासन कक्षमा तालासमेत लगाइदिएका छन्। 

प्रधानाध्यापक केवटले नियमित पठनपाठन सञ्चालनमा तदारुकता नदेखाएको विद्यार्थीको भनाइ छ। पढाइ ठप्प हुँदा अध्ययनमा असर परिरहेकाले तत्काल पठनपाठन सञ्चालन गर्नुपर्ने आफूहरूको माग रहेको विद्यार्थी उमाकुमारी महतोले बताउनुभयो। शिक्षक धर्नादेखि हाम्रो कुनै सरोकार नरहेको प्रस्ट्याउँदै उहाँले एक महिनादेखि राम्ररी पढाइ नभएको जानकारी दिनुभयो। 

विद्यालयमा जम्मा ४४ जना शिक्षक छन्। नौ जना निजी स्रोत, १० जना नमुना अनुदान र बाँकी दरबन्दीका शिक्षक छन्। प्राथमिक तहदेखि १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा एक हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।