• २७ पुस २०८१, शनिबार

नेपालमा बनेको विद्युतीय मोटरसाइकल दर्ता

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, जेठ ३ गते । नेपालमा उत्पादन भएर कानुन अभावमा दर्ता रोकिएको विद्युतीय मोटरसाइकल कानुन निर्माणसँगै दर्ता गर्न सुरु गरिएको छ। काठमाडौँको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय मोटरसाइकलमा विद्युतीय मोटरसाइकल यात्रीको दर्ता सुरु भएको हो।

नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन आयात प्रज्ञापन पत्रबिना नै दर्ता गर्ने गरी सङ्घीय सरकारले कानुनी व्यवस्था गरेको हो। विद्युतीय मोटरसाइकल बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकार मातहतको चार वटा यातायात कार्यालयमा दर्ता गर्न सकिने गरी बाटो खुलेको थियो। 

यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराका कार्यालय प्रमुख हरिहर पोख्रेलले नेपालमा नै उत्पादन भएको विद्युतीय मोटरसाइकल यात्री पहिलो पटक दर्ता भएको जानकारी दिनुभयो। उहाँका अनुसार एक निजी कम्पनीले ८५ वटा विद्युतीय मोटरसाइकल यात्री बनेकोमा हालसम्म एउटा मात्र यातायात व्यवस्था कार्यालयमा दर्ता भएको छ। उहाँले अन्य मोटरसाइकल जस्तै विद्युतीय मोटरसाइकल पनि विभिन्न करबाहेक दर्ता शुल्क पाँच सय रुपियाँ लाग्ने बताउनुभयो। विद्युतीय मोटरसाइकल दर्ता सुरु भएकाले अन्य विद्युतीय मोटरसाइकल दर्ताका लागि आउने बताउनुभयो।

कानुन अभावमा यसअघि सवारी दर्ताका लागि भन्सार प्रज्ञापन पत्र अनिवार्य गरिएकाले नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन दर्ता हुन सकेको थिएन। नेपालमा नै उत्पादन भएको विद्युतीय मोटरसाइकल अब प्रज्ञापन पत्र र भन्सार रसिदबिना नै दर्ता सुरु भएको हो। 

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहतका ११ यातायात कार्यालयमध्ये चार वटा यातायात कार्यालयमा मोटरसाइकलको दर्ता, नवीकरण, नामसारीलगायतका काम गर्न पाउने गरी व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालय हेटौँडा, भरतपुर र खुर्कोटमा मोटरसाइकल र यातायात व्यवस्था कार्यालय गुर्जुधाराले मोटरसाइकलको दर्ता गर्ने व्यवस्था रहेको छ। 

यसअघि यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि निर्देशिका,  २०६० मा संशोधन गरी नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्तासम्बन्धी विशेष व्यवस्था गर्ने निर्णय गरेको हो।