• १६ भदौ २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसमा दुई धार

blog

काठमाडौँ, जेठ ३ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ  परेपछि पार्टीभित्र दुई धारको बहस सुरु भएको छ । 

अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले मङ्गलबार केन्द्रीय सदस्य खाणलाई निलम्बन नगर्ने प्रस्टीकरण दिएलगत्तै महामन्त्री गगनकुमार थापाले साँझ विज्ञप्ति जारी गरी आरोप लागेकाले खाणलाई निलम्बन गर्नुपर्ने जिकिर गर्नुभएको छ । 

डा महतले पत्रकारहरूसँग निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउन नहुने बताउँदै केन्द्रीय सदस्य खाणले आफू निर्दोष भएको प्रमाणित गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसैले खाणजीको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको हो ।”

उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का निलम्बित सचिव एवं तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेता खाणमाथि लागेको अभियोगको प्रकृति फरक रहेको तर्क गर्नुभयो । उहाँले अनुसन्धानको निष्कर्ष आएपछि मात्रै पार्टीको औपचारिक धारणा आउने प्रस्ट पार्नुभयो । 

डा महतले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नका लागि पार्टीको सहयोग रहने बताउनुभयो । उहाँले कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणाको सन्दर्भमा सार्वजनिक अडियो नक्कली भएको बताउनुभयो । उहाँले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रस्ट पार्नुभयो । उहाँले डा राणाका तर्फबाट अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेकाले मिडियामा ट्रायल गरेर दोषी नबनाउन अनुरोध गर्नुभयो ।

महामन्त्री थापाको फरक मत

महामन्त्री थापाले विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्छ । अनुसन्धानबाट निर्दोष साबित भए पुनस्र्थापना हुन्छ नै । यो कानुनी मात्र होइन न्यूनतम नैतिक विषय पनि हो ।”

उहाँले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन, यो सङ्गठित अपराध हो, मानव बेचबिखन हो भन्दै यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह भएकाले यस्तो जघन्य अपराधमा संलग्न जो कोही भए पनि हदैसम्मको सजायका भागीदार रहने बताउनुभएको छ । 

अभियान घोषणा

यसैबिच कांग्रेसका युवा नेताले ‘नेपाली कांग्रेस रूपान्तरण अभियान’ को घोषणा गर्नुभएको छ । केन्द्रीय सदस्य मधु आचार्य, नेताहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजङ शाहीसहितका नेता पत्रकार सम्मेलनमार्फत अभियान घोषणा गर्नुभएको हो । उहाँहरूले पार्टीलाई समयसापेक्ष रूपान्तरणको पक्षमा देशव्यापी अभियान चलाउने घोषणा गर्नुभएको छ ।