• २७ पुस २०८१, शनिबार

आँबुखैरेनी अस्पतालमा आँखा उपचार सेवा सुरु

blog

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान ।

अमरराज नहर्की

तनहुँ, जेठ २ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आँखा उपचारको लागि सहज भएको छ । गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएसँगै उपचारको लागि सहज भएको हो । 

अधिकांश ज्येष्ठ नागरिकमा आँखाको समस्या हुने र उपचारको लागि टाढा धाउन कठिन भएकाले केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो। गाउँपालिकाले नेपाल नेत्रज्योति सङ्घ, हिरालाल सन्तुदेवि प्रधान नेत्रविज्ञान अध्ययन संस्थान र भरतपुर आँखा अस्पताल चितवनसँगको संयुक्त सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । 

अध्यक्ष चुमानले भन्नुभयो, "पालिका बासीलाई आँखा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न उपचार केन्द्र स्थापना सञ्चालनमा ल्याएका हौँ ।"

भरतपुर अस्पतालले दुई र गाउँपालिकाबाट एक जना कर्मचारी व्यवस्थापन गरी सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले वार्षिक ६ लाख रुपियाँ दिने र टिकट दस्तुरबाट सङ्कलन भएको रकमको २० प्रतिशत गाउँपालिकालाई फिर्ता गर्ने गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । 

आँबुखैरनीमा उक्त सेवा सञ्चालनमा ल्याएसँगै गाउँखैरेनी गाउँपालिकासँग जोडिएका गोरखा, चितवन र तनहुँ छिमेकी पालिकाका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनेछन् ।

केन्द्रको गाउँपालिकाका अध्यक्ष चुमानले उद्घाटन गर्नु भएको हो । यसै वर्ष गाउँपालिकाले आँबुखैरेनी बजारमा १५ शैयाको आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा पाउँदै आएका छन् । 

अस्पतालमा एक जना एमडिजिपी, दुई जना मेडिकल अधिकृत र स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिँदै आएको गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो।