• १२ साउन २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण

आरोप नै नलागेकालाई दोषी बनाउन मिल्दैन : प्रवक्ता महत

blog

मङ्गलबार सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महत । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, जेठ २ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप नै नलागेकालाई दोषी बनाउने कार्य भएको बताउनुभएको छ । अर्थमन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले दोषी नछुटुन् र निर्दोष नपरुन् भन्नेमा कांग्रेसको स्पष्ट धारणा रहेको बत्ताउनुभयो ।

मङ्गलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली कांग्रेस पार्टीले सहयोग गर्ने बताउनुभयो ।

उहाँले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने बताउनुभयो । उहाँले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उहाँको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो ।

प्रवक्ता महतले एमाले सचिव टोपबहादुर रायमाझी र खाणको मुद्दा फरक रहेको दाबी गर्दै एउटैमा जोड्न नमिल्ने धारणा राख्नुभयो । अनुसन्धान चलिरहेको उल्लेख गर्दै उहाँले अनुसन्धानले निकालेको निष्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउँछ भन्नुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘‘हाम्रो दृष्टिकोण यसमा के हो भने यो अनुसन्धान प्रक्रिया अगाडि बढोस् । यसमा पार्टीको पूरा सहयोग हुन्छ । अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्‍यो । निर्दोष पनि दोषी हुने अवस्था आउनु भएन । त्यसकारण स्वतन्त्र, निष्पक्ष अनुसन्धानको पक्षमा हामी छौँ । त्यसमा पुरापुरा सहयोग हामी गर्छौँ ।’’

उहाँले काँग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्यूरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उहाँले आग्रह गर्नुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘‘सामाजिक सञ्जालको ट्रायल भइरहेको छ । डा. आरजु राणाको विषयलाई लिएर उहाँ आफैँले प्रतिरक्षा गरिरहनु भएको छ । आफैँले साइबर ब्यूरोमा गएर यो नक्कली कुरा हो । यसको अनुसन्धान गर उहाँले भनिरहनु भएको छ । भनेपछि पहिला नै न उहाँ आरोपी हो न त्यसको कुनै प्रमाणिकता छ । यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी हो भनेजस्तो गर्नु भएन नि १ यसप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मलाई विश्वास छ अडियो प्रकरण झुटो र नक्कली हो ।’’

एक प्रश्नको जवाफमा उहाँले पार्टी सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी छानबिनका निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहनु भएको बताउनुभयो । घटनामा संलग्नहरू दोषी प्रमाणित भएमा कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने उहाँको भनाइ छ ।

अर्को एक जिज्ञासामा प्रवक्ता महतले पार्टीको विशेष महाधिवेशनको कुनै गुन्जाइस नभएको स्पष्ट पार्नुभयो ।