• १९ पुस २०८१, शुक्रबार

दुई विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता

blog

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा सोमबार लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङले सहमतिपत्र आदानप्रदान गर्नुहुँदै । तस्बिर : प्रम सचिवालय

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १६ गते । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबिच सहमतिपत्र आदानप्रदान भएको छ । समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्ने छन् । 

यसै गरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुने छन् । प्रधानमन्त्री ओलीको गत मङ्सिर १७ देखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबिच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबिच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकोमा खुसी व्यक्त गर्नुभयो ।