• ११ मंसिर २०८१, मङ्गलबार

चौध सामुदायिक विद्यालयको नयाँ भवन बन्दै

blog

विद्यालय भवन निर्माण गरिदै । तस्बिर : साबित्री गिरी

साबित्री गिरी

कोहलपुर, जेठ १ गते । कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरूको भौतिक अवस्था सुधारको कार्यमा गम्भीरताका साथ काम गरिरहेको छ । चालू आर्थिक वर्षमा एकै पटक १४ वटा विद्यालय भवन निर्माण गर्ने काम भइरहेको छ । 

शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको नगरपालिकामा दुई वटा विद्यालयका भवन निर्माण सम्पन्न भइसकेका छन् भने अरू १२ वटा विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको कोहलपुर नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविलाल मिजारले जानकारी दिनुभयो । 

ती भवनहरू विशेष अनुदान, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र नगरपालिकाले शिक्षा समन्वय र विल्डन नेपालसँगको सहयोगमा निर्माण गरिरहेको पनि मिजारले बताउनुभयो । कोहलपुर नगरपालिका –४ मा रहेको सगरमाथा ज्ञानपुञ्ज माविको ४ कोठे र कोहलपुर नगरपालिका –१४ मा रहेको राधाकृष्ण प्राथमिक विद्यालयको २ कोठे भवनको निर्माण कार्य पूरा भइसकेको छ । 

यस्तै, कोहलपुर –१५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको २ कोठे, चटारको ३ कोठे र नेपाल आधारभूत विद्यालय चौधरियाको २ कोठे, कोहलपुर–१४ स्थित सिर्जना बाल प्राविको ३ कोठे र  हवलदारपुरस्थित राम माध्यमिक विद्यालयको ४ कोठे, कोहलपुर –१ को जन ज्ञानज्योति माविको ४ कोठे र कृष्ण माविको ४ कोठे भवनको निर्माण कार्य भइरहेको छ । 

त्यसैगरी कोहलपुर –१० स्थित ज्ञानज्योति माविको ४ कोठे, कोहलपुर–२ स्थित लक्ष्मी माविको ८ कोठे, कोहलपुर–५ को सिद्धार्थ माविको ४ कोठे र कोहलपुर –९ को जनज्योति आधारभूत विद्यालयको ४ कोठे भवनको निर्माण कार्य भइरहेको छ । कतिपय विद्यालयका भवनहरू जीर्ण अवस्थामा रहेका र कतिपय विद्यालयमा विद्यार्थीको चापको अनुपातमा भवन अभाव देखिएकाले आवश्यकता आधारमा भवन निर्माण भइरहेको शाखा प्रमुख रामबहादुर हमालले बताउनुभयो ।