• ८ वैशाख २०८१, शनिबार

हावाहुरीले आँप बालीमा क्षति, किसान चिन्तित्

blog

हावाहुरीका कारण क्षति पुगेको आँपको रुख । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, जेठ १ गते । आइतबार साँझ आएको हावाहुरीका कारण धनुषाको आँपबालीमा ठूलो क्षति भएको छ । हावाहुरीका कारण रुखबाट आँप झरेपछि क्षति भएको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले गए राति आएको हावाहुरीले जिल्लाको सबैजसो स्थानको आँपबालीमा क्षति पुगेको बताउनुभयो ।

क्षति विवरण सङ्कलन कार्य भइरहेको र फलेको करिब २५ प्रतिशत आँप नष्ट भएको उहाँले जानकारी दिनुभयो । हावाहुरीले कतै फल मात्रै झरेको छ भने कतै हाँगा समेत भाँचिएको उहाँले बताउनुभयो । 

पाक्ने बेलामा हावाहुरीले आँपमा ठूलो क्षति गरेको भन्दै कृषकहरू चिन्तित बनेका छन् ।  आँप क्षतिबाट वर्षभरिलाई पुग्ने आय चौपट भएको मिथिला नगरपालिका –३, विश्रामपुरका किसान रामलखन महतोले बताउनुभयो । उहाँले आँपलगायत लिची र मकैबालीमा समेत हावाहुरीले असर पुगेको जानकारी दिनुभयो । 

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले हावाहुरीले आँपबालीलगायत खरले छाएको घर तथा जस्तापाताको घरमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको उहाँको भनाइ छ ।