अर्जुन काफ्ले
स्याङ्जा, जेठ १ गते । अर्जुन चौपारी गाउँपालिकाले किरातेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाडौँलाई दैनिक ३२ हजार ४९२ रुपियाँ ४७ पैसा जरिवाना गर्ने भएको छ ।
निर्माण कम्पनीले गाउँपालिकाको प्रशासकीय भवन समयमै निर्माण नगरेपछि पालिकाको वैशाख १३ गतेको कार्यपालिका बैठकको निर्णय र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१ बमोजिम जेठ १ गतेबाट लागु हुने गरी जरिवाना गर्न लागिएको हो ।
२०७७ पुस १५ गते १५ महिनामा काम सक्ने गरी सम्झौतामा गरेकोमा थप १५ महिनामा समेत भवन निर्माण नभएपछि जरिवाना गरिएको हो ।
प्रशासकीय भवन निर्माणको जम्मा लागत सात करोड ४१ लाख ५८ हजार ३८७ रुपियाँ ९० पैसाको ०.०५ प्रतिशत दैनिक जरिवाना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत उत्वल बहादुर बस्नेतले बताउनुभयो ।
भवन निर्माणको सबै काम सक्न अझै १५ दिन लाग्ने बताउँदै इन्जिनियर सन्दीप बोगटीले भवन हस्तान्तरण नगर्ने समयसम्म जरिवाना हुने बताउनुभयो ।
साढे चार तला, एक हलसहित ३२ कोठा रहेको भवनमा पालिकाले दिएको वैशाख ३१ गतेसम्म हलको छाना छाउन र झ्यालको ग्रिललगायतका काम हुन बाँकी छ ।
मूल्य समायोजन गरेर ३२ लाख रुपियाँ थप भुक्तानी लगेको निर्माण कम्पनीले थप १५ महिनामा निर्माणमा नसकेको हो ।
पालिका भवन ३० रोपनी जग्गा नेपाल सरकारबाट ३० वर्षका लागि भाँडामा लिएर निर्माण गरिएको हो ।
कोभिडका कारण भवन निर्माणमा ढिलाइ भएको बताउँदै निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्र चापागाईँले कार्यपालिकाको निर्णय र भवन निर्माण ऐन भित्र रहेर तोकेको जरिवाना तिर्ने बताउनुभयो ।
फेदिखोलामा पनि ढिलाइ
यस्तै, किरातेश्वरले फेदिखोला गाउँपालिकाको भवनको निर्माणको जिम्मा पाएको र यहाँ समेत काममा ढिलाइ गरेको छ ।
वि.सं.२०७७ चैत ६ गते दुई वर्षमा काम सक्ने गरी काम थालेको निर्माण कम्पनीले समय गुज्रेको ३ महिना काट्दासमेत ६० प्रतिशत मात्र काम भएको हो । कम्पनीले लिफ्टसहितको पाँच तले भवन सात करोड ८६ लाख ८५ हजार रुपियाँमा सम्झौता गरेको थियो ।