दोलखा, जेठ १ गते । आदर्श पुरुष, स्वच्छ छविका नेता एवम् पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा यहाँ हुने पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको अन्तिम तयारी पूरा भएको छ ।
यही जेठ ५ देखि ९ गतेसम्म यो टुर्नामेन्ट हुने सोमबार चरिकोटमा गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठले खेलबारे जानकारी दिँदै भन्नु भयो, खेलका लागि अन्तिम तयारी तथा पुरस्कार घोषणाका लागि पत्रकार सम्मेलन गरिएको हो । नेपालका १० च्याम्पियन महिला र निमन्त्रण गरिएका १० देशका खेलाडीहरूमध्ये सात देशका दुई सय जना सहभागी हुने पक्का भएको छ । खेलमा ४७ जना उत्कृष्ट खेलाडीका लागि चार लाख ८३ हजार रुपियाँको नगद पुरस्कार व्यवस्था गरिएको छ । प्रथम हुनेले एक लाख रुपियाँ र ट्रफी पाउनु हुने छ ।
खेलका लागि भारत र बङगलादेस समेतका छ जना आरबिटर रहने छन् । यो खेलले आन्तरिक तथा बाह्य पर्यटकको आगमनको पनि अपेक्षा राखिएको छ । प्रचार प्रसारका लागि पनि ९० दिनको समय राखिएको थियो । प्रचारप्रसार राम्रो भूमिका खेलेका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
आउने खेलाडीहरूका लागि १० वटा होटेलको व्यवस्था मिलाइएको छ । २५ लाख रुपियाँ खर्चको अनुमान गरिएकोमा खेल प्रेमी र स्थानीय सरकारसँग हातेमालो गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनु भयो ।