ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), जेठ १ गते । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल ठेक्का सम्झौताअगावै निर्माण सम्पन्न गर्ने गरी काम गरिएको छ। सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो।
पुल निर्माणका लागि सम्झौता गरेसँगै निर्माण कम्पनीले योजनास्थलमा मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तीव्रता दिएको थियो। योजनाको अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इन्जिनियर आशिक रिजालका अनुसार योजनाको ८५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। पुल निर्माणको यही गति कायम रहे आगामी असोज महिनाभित्रै पुल निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो।
पुलको एउटा स्ल्याप ढलान भइसकेको र अर्कोको एक हप्ताभित्र ढलान गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो। पुलको ढलान सकिएपछि बाँकी रहेको वारिपारिको सडक बनाउने, ग्याबियन जाली लगाउने र फिनिसिङ गर्ने काम असोजभित्र सकिने उहाँले जानकारी दिनुभयो। २०८० साल चैत २८ गतेभित्र योजना सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ। सम्झौताअगावै पुल निर्माण गर्ने गरी कार्यालय जुटेको उहाँले बताउनुभयो।
बेगखोलामा पुल नहुँदा वर्षामा सवारीसाधन आवतजावतमा निकै समस्या भोग्नु परेको छ। २०७३ साल भदौ १७ गतेको बाढीले बेगखोलामा रहेमो बेलिब्रिज र झोलुङ्गे पुल बगाएको थियो। खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङ भ्रमणमा आउने पर्यटक, तीर्थयात्री र सर्वसाधारणले वर्षामा आउने बाढीका कारण विगत छ वर्षदेखि सास्ती भोग्दै आएका छन्।