• २१ पुस २०८१, आइतबार

जिल्ला अस्पताल बैतडी सर्वोत्कृष्ट

blog

बैतडी समाचारदाता

बैतडी, जेठ १ गते । देशभरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा सञ्चालनसम्बन्धी मापदण्डमा सर्वोत्कृष्ट भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम मूल्याङ्कनका आधारमा जिल्ला अस्पताल ९५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल भएको हो। 

आइतबार आयोजित एक कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमका संयोजक विमलचन्द्र पुनले देशभरका प्राथमिक अस्पतालको मूल्याङ्कनका आधारमा बैतडी जिल्ला अस्पताल पहिलो भएको घोषणा गर्नुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला अस्पतालले उपचारमा निकै ठुलो फड्को मारेको बताउनुभयो। अस्पतालको स्वास्थ्य उपचार सेवा दीर्घकालसम्म टिकाइराख्नुपर्नेमा उहाँले जोड दिनुभयो। १५ शय्या क्षमताको यस अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सक र सात जना मेडिकल अधिकृत गरी १२ जना स्वास्थ्यकर्मी छन्। सो अस्पतालबाट यो आर्थिक वर्ष २९ हजार बिरामीले सेवा लिएको पाइएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम प्रदेशद्वारा गरिएको अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवा अन्तर्गत हुने मूल्याङ्कनमा एउटा नमुना अस्पतालका रूपमा उभिन सफल भएको  अस्पतालका निमित्त मेडिकल सुरिन्टेन्डेन्ट डा. दीपेश श्रेष्ठले बताउनुभयो। 

सुपरिन्टेन्डेन्ट डा. श्रेष्ठले भन्नुभयो, “मूल्याङ्कनमा ७५० भन्दा बढी बुँदा हुन्छन्। बैतडीमा ५० शय्याको अस्पताल भवन बने पनि दरबन्दी १५ शय्याको मात्रै छ। सरकारबाट १५ शय्याको मात्रै सेवासुविधा आए पनि हामीले ४९ बेड सञ्चालन गरेर बिरामीको उपचार गरिरहेका छौँ।”

नेपाल सरकारले ७० वटा औषधी निःशुल्क भने पनि बैतडी अस्पतालले एक सयभन्दा बढी औषधी निःशुल्क दिने गरेको छ। हाडजोर्नी तथा नसारोग विशेषज्ञ, नाक, कान, घाँटीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, स्त्रीरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित १२ जना चिकित्सकले सेवा दिइरहनुभएको छ।

देशभरका प्राथमिक अस्पतालमध्ये बैतडी अस्पताल सर्वोत्कृष्ट हुनुमा चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबै कर्मचारीले दिन रात नभनी उच्च मनोबलका साथ सेवामा खटिएकाले सर्वोत्कृष्ट बनेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो। अस्पताल सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय, बिरामीलाई आपत्कालीन अवस्थामा रगत दिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललगायतको महत्वपूर्ण सहयोग रहेको अध्यक्ष भट्टले बताउनुभयो। दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले अस्पताललाई स्थानीय तहबाट हुने सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले बैतडी अस्पतालमा विशेषज्ञ डाक्टर आएपछि उपचारका लागि भारत जानुपर्ने बाध्यता हटेको बताउनुभयो। 

अक्सिजन प्लान्ट र अत्याधुनिक ल्याब 

सङ्घीय सरकारको करिब डेढ करोड रुपियाँ र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख रुपियाँमा अक्सिजन प्लान्ट जडान भएको छ। दैनिक १५ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान भएपछि दुईवटा भेन्टिलेटर बेड सञ्चालन गरेर उपचार सेवा सुरु भएको अस्पताल प्रमुख डा. श्रेष्ठले  बताउनुभयो। यसका साथै अस्पतालमा अत्याधुनिक ल्याबसेवा सञ्चालन गरी ब्लड कल्चर सेवा सुरु भएको छ। ब्लड कल्चरले बिरामीको रगतमा रहेका व्याक्टेरिया वा फङ्गस आदि पत्ता लगाई रोग निदान गर्न सहयोग पुग्ने बताइन्छ। यसअघि ब्लड क्लचर सेवा नहुँदा बिरामीलाई अन्य अस्पतालमा ‘रेफर’ हुने गरेका थिए। अत्याधुनिक ल्याब सेवा सुरु भएपछि दैनिक १५० जना बिरामीको परीक्षण हुने गरेको ल्याब सेवाका इन्चार्ज चन्द्रसिंह डोबालले बताउनुभयो। 

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हिंसा तथा बलात्कारमा परेका महिला तथा बालबालिकाका लागि जिल्ला अस्पताल बैतडीले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरेको छ। चालु आर्थिक वर्षको चैतसम्ममा १८१ जना पीडित महिलाले स्वास्थ्य उपचार, कानुनी उपचार र सामाजिक मनोपरामर्श सेवा लिएका छन्।