फागुन ११ गते सोमबार काठमाडौँबाट संयुक्त अरब इमिरेट्सका लागि उडेको फ्लाई दुबई विमानको इन्जिनमा समस्या आएको विषयलाई नेपालका अनलाइन मिडियाले आफूखुसी व्याख्या गरेर समाचार बनाए । कतिपयले विमानमा आगो लागेको, इन्जिन फेल भएको र विमान दुर्घटनासमेत लेख्न भ्याए । ती मिथ्या सूचना डडेलोसरी क्षणभरमा फैलियो । कतिपय मिडियाले ती समाचार अहिले हटाएका छन् । सीमित अनलाइन मिडियाले मात्र नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई कोट गरेका थिए । समाज नै आतङ्कित पार्ने गरी सोसल मिडियामा सेयर भएको
‘मिथ्या सूचनायुक्त समाचार’ ले नेपाली समाज मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा समेत ठुलै चासो र चिन्ता थप्यो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले सामाजिक सञ्जालमा विमान दुर्घटना टरेको लेखेपछि पनि मिथ्या सूचनाको प्रवाह रोकिएन । अनुमानमा फिजाइएका अफवाहले हाम्रो हवाई सुरक्षामाथि नै प्रश्न उठाइयो । घटना भएको दिन राति साढे ९ बजे विमानस्थल पुग्दा कतिपय युट्युबरले फ्लाई दुबईको विमान दुर्घटनामा परेको भन्न भ्याइसकेका थिए । कतिपयले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भनेर प्रचार गरिरहेका थिए । नामधारीका प्रत्यक्षदर्शीलाई क्यामेरा अघि उभ्याएर, गलत प्रचार गरेको भेटियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले समस्याग्रस्त जहाज नेपाली आकाशबाट भारतको आकाशमा पुगिसकेको र उडान सहज भएको बताइरहँदा समेत भ्युज बटुल्ने नाममा गलत सूचनाको अफवाह फैलिइरह्यो । पछिल्ला वर्षमा भइरहेका साना ठुुला यस्ता घटनामा सत्यताभन्दा पनि आफू अनुकूलका व्याख्या गरी गलत सूचना प्रवाह भइरहेका छन् । मिथ्या र गलत समाचारको बाढीले सही सूचना ओझेलमा परेका छन् ।
२०७४ भदौ २९ मा भएको एमसीसी (मिलेनियम च्लालेन्ज कर्पोरेसन) नेपालमा मिथ्या सूचनाको सिकार बनेको अर्को घटना हो । एमसीसीलाई लिएर नेपालमा धेरै भुइँफुट्टा विज्ञ निस्किए । एमसीसी अनुमोदन भए नेपालमा अमेरिकी सेना आउने अफवाह फैलाइए । सम्झौता अनुमोदन भएको वर्षदिन बित्दा पनि अमेरिकी सेना त आएनन् तर पनि भ्रम फैलाउने काम भने भई नै रहेको छ ।
नेपाल र अमेरिकाबिचको ७६ वर्ष लामो दौत्य सम्बन्धका व्रmममा अमेरिकाले गरेको सबैभन्दा ठुलो सहयोग भए पनि त्यो भ्रम चिर्न चार वर्ष लाग्यो । १५ फागुन २०७८ मा प्रतिनिधि सभा बाट ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौता अनुमोदन भएपछि अहिले कार्यान्वयनको चरणमा पुगेको छ ।
२०७९ फागुनमा राष्ट्रिय सरोकार समितिको बैठकका एमसीए नेपालका कार्यकारी निर्देशकले ‘केही गरे पनि भ्रम चिर्न नसकेको, काम भइसकेपछि बल्ल गलत सूचना आफैँ हट्ने’ बताएका थिए । मन्त्रीपरिषद् बैठकले रुख कटान र जग्गा अधिग्रहणका लागि बाटो खोलिदिए पनि प्रसारण लाइन भित्र पर्ने जग्गा अधिग्रहण र रुख कटानीमा जनप्रतिनिधिले मन फुकाएर सहयोग गरेका छैनन् । विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारमा फड्को मार्ने यो परियोजना नेपालको हितमा छ भन्नेमा अझै शङ्का उत्पन्न गराइएको छ ।
संसद्मा रहेको सबभन्दा ठुलो दलका कतिपय स्थापित नेताले समेत परियोजनालाई लिएर जनतालाई भ्रम फैलाइएका थिए । मिथ्या सूचनाको बलमा नेताले नै जनतालाई भ्रमित गराउने र समाजलाई गलत दिशामा डोहो¥याउने काम पनि भइरहेको पाइन्छ ।
मिथ्या सूचनाको सिकार कतिपय बेला देशको कार्यकारी पदमा बस्नेले पनि भइरहेका छन् । २३ फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यव्रmममा दिएको अभिव्यक्तिलाई लिएर प्रचण्डविरुद्ध मुद्दा दर्ता भयो । अभिव्यक्तिको अगाडि र पछाडिको भाग काटेर सूचना दिँदा समाजलाई दिग्भ्रमित पार्ने कोसिस भयो । प्रचण्डको त्यो भिडियो क्लिप विपक्षी दलका कार्यकर्तालाई मसला बन्यो ।
नेपालमा मात्र होइन विकसित देशमा पनि मिथ्या सूचनाले समाजमा भ्रम सिर्जना गरिरहेको छ । जस्तो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१६ देखि २०२० को राष्ट्रपति चुनावमा सामाजिक सञ्जालको उपयोग गरी आफ्ना स्वार्थ अनुकूल प्रयोग गरे । आफ्नो विरोध गर्नेहरूका लागि ‘फेकन्युज मिडिया’ भने । तत्कालीन राष्ट्रपतिको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि ट्वीटरले सदाका लागि र फेसबुकले अनिश्चितका लागि ट्रम्पको अकाउन्ट बन्द गरे ।
नेपालमा भने मिथ्या र भ्रामक सूचनाको प्रभाव अझ बढिरहेको छ, यसमा समाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह र मङ्सिरमा सम्पन्न सङ्घीय चुनावमा समेत मिथ्या सूचनाको प्रवाह बढी देखियो । निर्वाचन आचारसंहितालाई लत्याउँदै स्थापित भनिएका कतिपय अनलाइन मिडियाले कसैको पक्षधरता लिए । फलना उम्मेदवारको जित सुनिश्चित, प्रतिस्पर्धी हार्ने भन्दै चुनावअघि नै भ्रम फैलाइयो । यो पत्रकारिताको न्यूनतम सिद्धान्तविपरीतको घटना हो । निर्वाचन आयोगको सिफारिसमा केही विद्युतीय सञ्चारमाध्यमलाई कारबाही गरे पनि भ्रामक र मिथ्या सूचनाको प्रवाह रोकिएन ।
२०७९ फागुन–चैतमा सहकारी तथा लघुवित्तबाट लिएको पैसा मिनाहा हुने भन्ने समाचार गाउँगाउँमा फैलियो । केही व्यक्तिले पैसा तिर्न नपर्ने भनी दिएका अभिव्यक्ति सामाजिक सञ्जालबाट भाइरल भएपछि ऋणी नै दोधारमा परे । अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्छ भनेपछि बल्ल केही मत्थर भयो । यस्तै भ्रमका कारण वैदेशिक रोजगारीमा गएका युवा ठगिएका छन् । सामाजिक सञ्जालमा आएका अपुष्ट समाचारमाथि विश्वास गर्दा युवा ठगिएको वैदेशिक रोजगार विभागले बताउँदै आएको छ ।
इतिहासमा भन्दा वर्तमानमा बढी
नेपाली पत्रकारिताको इतिहासमा ‘पीत पत्रकारिता’का घटना नभएका होइनन् । पञ्चायतकालमा बहुदलीय व्यवस्था मागेका दललाई गलत साबित गर्नेका लागि गलत सूचना दिने र भ्रम सिर्जना गर्ने काम भएको थियो । सामाजिक सञ्जाल र एफएम रेडियोेको प्रभाव नभएको समयमा सन्ध्याकालीन पत्रिकाले यस्तै भ्रम छर्ने काम गरेका थिए । माओवादी सशस्त्र सङ्घर्षको समयमा पत्रिका बिकाउनकै लागि ‘बाबुराम भट्टराई’को मृत्यु भएको गलत सूचना प्रवाह भएका उदाहरण छन् ।
वैदेशिक रोजगारीमा गएका १२ जना नेपाली इराकमा मारिएको काण्डदेखि भारतीय नायक ऋतिक रोशनले दिएको अभिव्यक्तिलाई लिएर भएको काण्ड हाम्रो समाजले गलत सूचनाका कारण भोगिएका घटना हुन् । २०६२ भदौ १२ गते घटनाको यथार्थ थाहा नहुँदै काठमाडौँमा म्यानपावरमा तोडफोड भएको थियो । पहिलाको तुलनामा अहिले गलत सूचनाको बाढी झन् बढिरहेको छ । पाठकले सही सूचना पहिल्याउन नसक्ने अवस्था सिर्जना हुन थालेका छ । इन्टरनेट र मोबाइलमा पहुँच बढेसँगै मिथ्या सूचनाको बाढी छिटो फैलिने गरेको छ ।
व्यावसायिक सञ्चारमाध्यममा संवाददाताले लेखेको समाचार प्रकाशन र प्रसारण हुन तीनवटा ढोका पार गर्नुपर्ने भए पनि भ्युज बटुल्ने मिडियालाई त्यसको ख्याल छैन । व्यावसायिक सञ्चारमाध्यम आफूले प्रकाशन गरेको समाचारमा जवाफदेही भए पनि मिथ्या सूचना फिजाइरहेका ‘बेवारिसे सञ्चारमाध्ययम’ ले त्यो धर्म निर्वाह गरेको पाइँदैन । जिम्मेवार संस्थाबाट व्यक्तिलाई सोधखोज नै नगरी हचुवाका भरमा प्रकाशन भइरहेको देखिन्छ ।
मिथ्या र भ्रामक सूचना निरन्तर दिइरहँदा नागरिकमा सही र सत्य सूचनाका लागि धैर्य नगर्ने रोग देखापरेको छ । पुष्टि होस्÷नहोस् कसैको मृत्युको समाचार आयो भने ‘श्रद्धाञ्जली’ लेख्ने हतार देखिन्छ । राष्ट्रकवि माधव घिमिरे बिरामी परेको समयमा बहालवाला गृहमन्त्रीले श्रद्धाञ्जली लेख्न भ्याइसकेका थिए । सही या गलत सूचनाको वर्गीकरण गर्न नसक्ने पाठकले त्यस्ता सूचनाको सहारा लिने गरेको देखिन्छ ।
अध्ययन नगरेका र अन्यत्र कतै नबिकेका व्यक्ति पत्रकार बन्न आउँदा विश्वसनियतामा खडेरी परिरहेको छ । सामाजिक सञ्जाल र मिथ्या सूचना उत्पादन गर्ने व्यक्ति वा संस्थालाई नियमन गर्ने प्रभावकारी संयन्त्र बनाउन नहुँदा लोकतन्त्र र व्यवस्था माथि नै चुनौती थपिन सक्छ । गलत सूचनाको बाढीले जनतालाई भ्रमित गराँउने तथा असन्तुष्टि र आन्दोलन उठ्न सक्छ ।
नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यसको अर्थ कसैलाई बिनाआधार गाली गर्ने, होच्याउने या गलत सूचना प्रवाह गर्ने छुट दिएको अवश्य होइन । मिथ्या सूचनाबाट समाजलाई अलग राख्नका लागि व्यावसायिक पत्रकारको क्षमता विकास गर्नु र समाजलाई पनि ‘मिडिया लिटरेसी’को आवश्यकता छ । सही र गलत सूचना छुट्याउनका लागि पनि मिडिया लिटरेसीको आवश्यकता छ । गोरखापत्र दैनिकलाई आधिकारिक मान्ने परम्परा विद्यमान छ । गोरखापत्रमा प्रकाशित समाचारलाई हिजो पनि आधार मानिन्थ्यो, आज पनि मानिँदै आएको छ र भोलि पनि त्यसको निरन्तरताको अपेक्षा गरौँ ।
लेखक पत्रकार हुनुहुन्छ ।