• १० मंसिर २०८१, सोमबार

आँखामा क्यानबेरा सम्झना काठमाडौँ

blog

क्यानबेराको सडकमा बाटो काट्न लागेको थिएँ । जेब्राक्रसिङमा उभिएर मुन्टो बटारेर दायाँ–बायाँ आँखा ओछ्याएँ । अलिपर एउटा कार हुइँकिँदै आएको देखियो । सोचेँ, कार जाओस्, त्यसपछि बाटो काटुँला । कार जेब्राक्रसिङभन्दा केही पर झ्याप्पै रोकियो । एकछिन त कुनै भवितव्य परेछ कि भनेर झस्किएँ । कारचालकले मलाई जान इसारा गरे । आफ्नो नेपाली बानी अर्थात् सडकमा जेब्राक्रसिङको सङ्केत भए पनि गाडीकै अग्राधिकार हुन्छ भन्ने मान्यता मैले प्रस्तुत गर्दै उनलाई नै पहिले जान इसारा दिएँ । उनले हलचल नगरेपछि मैले मुन्टो निहु¥याएर उनलाई धन्यवाद टव्रm्याएको जनाउ दिँदै जेब्राक्रसिङमा पाइला लम्काए । 

अस्ट्रेलियाको राजधानी क्यानबेरामा इज्जतका साथ सडक छिचोल्दै गर्दा आफ्नै देशको राजधानीलाई सम्झन पुगेँ । काठमाडौँमा पनि सडक पार गर्दा जेब्राव्रmसिङ त पैदलयात्रीकै हो भन्ने मान्यता त छ तर त्यो मान्यताले कहिले पनि काम गरेन । एक पटक जेब्राक्रसिङबाटै सडक पार गर्दै थिएँ, दायाँ–बायाँनजिकै कुनै सवारी थिएन । आधा बाटो नकाट्दै मोटरसाइकल एकहोरो हर्न बजाउँदै रकेट रफ्तारमा मेरो अगाडि आइलाग्यो । शरीरका सबै रौँ ठाडा भए । होसहवास उड्यो । रौँ बराबर दूरीमा मेरो अगाडिबाट उक्त साधन हुइँकिएर आएर झ्याप्पै रोकियो । 

‘मर्न मन छ कि क्या हो ?’ कसैले न्वारनदेखिको बल लागाएर कराएकोे आवाज सुनेपछि मात्र मेरो आँखा खुल्यो । मलाई केही भएको रहेन छ । मैले आवाज आएतिर नजर लगाएर भनेँ, “मर्ने रहर कसलाई पो हुन्छ र भाइ ?” मोटरसाइकलका चालक युवक थिए । उनले आफ्नो युवा जोस पोखे, “हर्न बजाएको सुनिनस् !” उनले बलपूर्वक ब्रेक लगाउँदाको घर्षणको टाटो सडकमा स्पष्ट देखिन्थ्यो । धन्न उनले पनि मोटरसाइकल सम्हाल्न भ्याए । 

“म जेब्राक्रसिङबाट बाटो काट्दै छु । हाँक्नेले पनि विचार गर्नु पर्छ ।” मैले यति मात्र के भनेको थिएँ, उल्टै दाह्रा किट्दै उनले भनेँ, “आँखा छैन तेरा !” मैले थप प्रतिरक्षामा ओर्लिन उचित ठानिनँ । चुप लागेर फटाफट आफ्नो बाटो तताएँ ।

काठमाडौँको यो घटना सम्झँदै आफ्नो ध्यानलाई फेरि क्यानबेरातर्फ मोडेँ । सहरमा लम्कँदै गर्दा दायाँ–बायाँ सबैतिर नियालेँ । फराकिला पेटी र सडक । चारैतिर सफा र चिटिक्क । त्यसमाथि फूल तथा वृक्षले सजिएका । ठाउँठाउँमा फराकिला पार्क । पर्याप्त खुला क्षेत्र । सर्वत्र हरियाली । स्वच्छ वायु । सार्वजनिक स्थलहरूमा निःशुल्क खानेपानी एवं शौचालयको सुविधा । स्पष्ट कोरिएका आवासीय, व्यापारिक र औद्योगिक क्षेत्र । स्वचालित ट्राफिक व्यवस्थापन । भरपर्दो र सुविधाजनक सार्वजनिक यातायात । आवश्यकता अनुसारको पार्किङ सुविधा । नागरिक सभ्य, संयमित र अनुशासित । तँछाड÷मछाडको प्रवृत्ति देखिन्न । आवश्यक परेको स्थानमा लामबद्ध हुन्छन् । तनाव र आक्रोश  कसैले पोखेको पाइँदैन । मनमनै सोचेँ– सबै कुरो थितिले चल्दा मान्छेमा तनाव र आक्रोश  पनि कम हुनेरै’छ । 

इतिहास खोतल्दै जाँदा तत्कालीन शासकहरूको दूरदृष्टिका कारण नै क्यानबेराले विश्वकै योजनाबद्ध र सुन्दर सहरको सूचीमा पर्ने मौका पाएको रहेछ । सन् १९०१ म ब्रिटेन शासित छवटा अलगअलग औपनिवेशिक राज्य मिलेर अस्ट्रेलियाली राष्ट्रमण्डलको रूप ग्रहण गरेपछि राजधानी सिड्नी वा मेलबर्न भन्ने छलफल चल्यो । विकल्पमा मेलबर्न अस्थायी राजधानी हुने गरी सिड्नीभन्दा १६० किमि दक्षिण–पश्चिममा अवस्थित एक ग्रामीण इलाकामा नयाँ राजधानी निर्माण गर्ने निधो गरियो । नयाँ राजधानीलाई उत्कृष्ट तवरले निर्माण गर्न ३० अप्रिल १९११ मा एक अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको आह्वान गरियो ।

प्राप्त डिजाइनमध्ये अमेरिकी वास्तुशास्त्री दम्पती वाल्टर बर्ली ग्रिफिन र मारिओन महोनी ग्रिफिनलाई विजेता घोषणा गरियो । पछि अन्य सुझावसमेत समावेश गर्दै १० जनवरी १९१३ मा अस्ट्रेलियाको संसद्ले अनुमोदन गरेसँगै सङ्घीय राजधानी निर्माणका लागि औपचारिक स्वीकृति प्रदान गरियो । वृत्त, त्रिभूज र षट्कोण जस्ता ज्यामितीय आकृति नयाँ राजधानीको प्रमुख विशेषता बन्न पुग्यो । त्यसैगरी राजधानीको नाम तोक्ने सवालमा पनि सार्वजनिक आह्वान गरिएको थियो । नामाङ्कनका लागि सङ्कलित सुझावबाट १२ मार्च १९१३ मा अस्ट्रेलियाका तत्कालीन गभर्नर–जनरल लार्ड डेनमैनकी पत्नी लेडी डेनमैनले एक समारोहका बिच नयाँ राजधानीको नाम ‘क्यानबेरा’ घोषणा गरेकी थिइन् ।

क्यानबेरा सहरमा टहल्दै गर्दा ससाना पहाडले घेरिएको प्राकृतिक बनोटले गर्दा क्यानबेरामा काठमाडौँकै झझल्को पाएँ । मन चसक्क भयो । मेरो देशको राजधानीलाई पनि हाम्रा शासकहरूले दीर्घकालीन सोचका साथ योजनाबद्ध तवरले विकास गरिदिएका भए आज क्यानबेराभन्दा कैयौँ गुना सुन्दर र भव्य देखिन्थ्यो होला । प्रकृतिको अनुपम काखमा अवस्थित काठमाडौँप्रति यिनले अलिकति पनि विवेक पु¥याइदिएका भए आज कुरूप र अव्यवस्थित सहरमा दरिन पुग्ने थिएन होला । 

हेर्दाहेर्दै काठमाडाैँ खाल्डो कङ्व्रिmटले भरियो । यहाँको जिन्दगी दुई/चार आना जग्गाभित्र कैद हुन पुग्यो । मठमन्दिर, पाटी–पौवा, सत्तल, ढुङ्गेधारा वरपरका क्षेत्रहरू साँघुरिए । ऐतिहासिक र प्राचीन सम्पदालाई अग्ला भवनहरूभित्र लुकाइयो । सर्वत्र व्यापारिक स्वार्थ मौलाउँदा काठमाडौँका सदियौँ पुराना बस्तीको मौलिकतामा प्रहार गर्दै परम्परागत शैलीका घर नासेर भीमकाय संरचना थपिँदै छन् । सडक विस्तारका नाममा पुराना शैलीका बचेखुचेका घर पनि हराए । 

मनमा यस्तै तर्कना चलिरहँदा पाइला क्यापिटल हिलतिर मोडियो । यहाँ अस्ट्रेलियाको संसद् भवन रहेको छ । सर्वसाधारणले संसद् चलेको बखतमा पनि यहाँ अवलोकन गर्न पाउँछन् । हामीले पनि सिंहदरबारलगायत ऐतिहासिक भवन सर्वसाधारणका लागि अवलोकनका निम्ति खुला गर्न सकिन्छ कि ! 

यस्तै अस्ट्रेलिया जाँदा काठमाडौँ–बैङ्कक उडानमा रहँदा सँगै बसेका डेनिस नागरिकसँग मेरो भलाकुसारी हुन पुग्यो । उनलाई प्रत्येक वर्ष नेपाल नआई चित्तबुझ्दो रहेनछ । विशेष गरी हिमाली भेगका मनोरम दृश्यहरू हेर्न उनी नेपाल आउँदा रहेछन् तर उनलाई राजधानी काठमाडौँ भने एकछिन पनि बस्न मन लाग्दैन रे ! उनलाई नेपालका हिमालले तान्ने गरेकोमा मलाई गर्व लाग्यो तर मेरो देशको राजधानीप्रति नाक खुम्च्याएकोमा मन अमिलो भयो । उनीसँगको संवादले हाम्रो राजधानी पर्यटकमैत्री छैन भन्ने सङ्केत पनि दिन्थ्यो । 

वायु प्रदूषण, फोहोर, खाल्डाखुल्डी, सार्वजनिक यातायातको बेथिति, पेटीको अभाव जस्ता अनेकौँ समस्याले सधैँ पिरोल्छ हाम्रो राजधानीलाई । शौच जानु परेमा त झनै महाभारत नै पर्छ । काम गर्न खोजिन्छ ढङ्ग पुग्दैन । सडकमा हरियाली कायम गर्ने भनिन्छ तर दोहोरो हिँड्न पनि नमिल्ने पेटीमै बाक्लो गरी वृक्ष हुर्काइन्छ । 

विद्युत्का तारलाई भूमिगत गर्ने भनिन्छ तर यसको अतिव्रmमणमा पेटी नै पर्दै छ । यो वा त्यो बहानामा एउटै कामलाई बारम्बार भत्काउने र बनाउने खेल चलिरहन्छ यहाँ । कतै टहल्न र साथीभाइ भेटेर गफ्फिन पार्क र खुला ठाउँ भेटिँदैन । कामविशेषले घरबाट निस्किएर नफर्किएसम्म अनेक तानाव बेहोर्नु पर्छ ।

विदेश सयर नगरेका नेता कमै होलान् तर अन्यत्रको देखेर सुन्दर सहर बसाल्ने सोच नै पैदा भएन हाम्रा नेतृत्वमा । सहर भनेको राजनीति गर्ने र आर्थिक उपार्जनको थलो मात्र हो भन्ने मान्यताले प्रश्रय पायो । यो व्यवस्थित, प्रकृतिमैत्री, स्वस्थकर र यहाँको जीवन गुणस्तरीय हुनु पर्छ भन्ने दृष्टिकोणले मूर्तरूप लिन सकेन । ‘स्वच्छ, सफा, हराभरा र स्वस्थ काठमाडौँ’ र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ जस्ता आकर्षक नारा घन्काइए तर न त राजधानी गतिलो हुन सक्यो, न त गौरव गर्नलायकको बन्न सक्यो । 

बरु हाम्रा पुर्खाहरू विवेकी र दूरदर्शी रहेछन् । मानव बस्ती व्यवस्थित हुनु पर्छ भन्ने मान्यता राख्थे । संरचनाहरू निर्माण गर्दा खुला क्षेत्र र हरियालीका लागि पर्याप्त ठाउँ छाड्थे । विद्यालय फराकिला थिए । बालबालिकाका लागि पर्याप्त खेल मैदान थिए तर अहिले सधैँ आरोप–प्रत्यारोपको राजनीति मात्र हुन्छ । यो प्रवृत्तिलाई जतिसक्दो छिटो तिलाञ्जली दिनै पर्छ । नत्र बाँकी रहेका युवा पनि कतार/मलेसिया र अमेरिका/अस्ट्रेलियातिरै लाग्ने छन् ।   

Author

विजयराज पोखरेल