• १० मंसिर २०८१, सोमबार

नाभी गाडेको माटो

blog

आफ्नो जन्मथलो सबैलाई प्यारो लाग्छ । भनाइ नै छ, “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छ । अनेकौँ भोगविलास, सुखसुविधामा लट्ठ पर्दा पनि भुल्न नसकिने जन्मभूमि नै हो । नसा–नसामा जन्मस्थानको रगत सिञ्चन भएको हुनाले नै तत् स्थान खातिर नयन पग्लिने गर्दछ । मन, मुटु र मस्तिष्कमा हरपल नाभी गाडेको माटोको सुगन्ध, सुवास र सम्झनाले बास बसिरहेको हुन्छ । हरेक सुसेली, सुस्केरा र सुवास त्यहीँको आउँछ, जहाँ आफू बामे सर्दै, घिस्रिँदै हिँड्न सकियो, बोल्न सकियो र मुठी पार्न र खोल्न सकियो । त्यसैले जन्मथलो र जन्म दिने आमा मुटुमा अटुट लाहाछाप बनेर टाँसिएका हुन्छन् । त्यसको सम्झना मात्रैले पनि शीतलता छाउँछ, आनन्द हुन्छ, चङ्गा भएर मनमै गङ्गा रसाउन थाल्छ । नाभी गाडेको माटोमा त्यो तागत हुन्छ, जुन तागत शक्तिशाली भिटामिनले प्राप्त गर्न सकिँदैन । 

हाम्रा पुर्खा भन्ने गर्थे, “जहाँ जाँदा पनि (लक्ष्य प्राप्ति हेतु) आफ्नो नाभी गाडेको ठाउँको एकमुठी माटो बोकेर लैजानु” मनोकाङ्क्षा पूर्ण हुन्छ । कतिपय नेपाली विदेशबाट फर्किंदा हवाईजहाजबाट ओर्लिनासाथ चार पाउ टेकेर मातृभूमिलाई ढोग्ने गर्छन् । आफ्नो थातथलोको स्पर्श मात्रैले पनि मानवमा नयाँ ऊर्जा प्राप्त हुन्छ । नयाँ जोस जाँगर चल्छ र केही गर्छु भन्ने आँट, जाँगर र हुटहुटी चल्छ ।  म पनि मेरो नाभी गाडिएको ठाउँको माटो लिन छ दिनको पैदल यात्रापछि खोटाङको सुङदेल हासु भन्ने ठाउँ पुगेको थिएँ । त्यहाँ मेरो जन्मघर थिएन । जन्मघरको भग्नावशेष मात्र थियो । मेरा पालाको यासिका क्यामराले त्यही भग्नावशेषको तस्बिर लिएँ र केही प्राकृतिक छटाको फोटो लिएँ । आजभन्दा ४५ वर्षअघि १२ वर्षको छँदा भक्कानो छोडेर रुँदै मैले जन्मथलो छोडेको थिएँ । मेरा १०÷१२ पुस्ताको नाभी त्यहीँ कतै घुलमिल भएको छ । आफ्नो आत्मा सन्तुष्टि हेतु त्यहीँको मृत्तिकाको चन्दन लेपन गरेर फर्किएको पनि ४० वर्ष पार भइसकेको छ ।

अहिलेसम्म म पोखराकै हावापानीमा जवानी अनुवाद गरिरहेको छु तर नाभी गाडेको माटोको सम्झनाले कहिल्यै छोड्दैन । दुःख, दर्द, सारोगारोमा त झन् नाभी गाडेको माटो आँखै अगाडि आएर आँसु बनेर टाप कस्दा पनि आत्माले आराम महसुस गर्छ । अतिप्रियको सम्झना मात्रैले पनि आत्मसन्तुष्टिको सीमा नै रहँदैन । 

उत्तरआधुनिक युगमा पुर्खाका कथन–उपकथनले कसको देह पग्लिन्छ र ? वर्तमान पुस्ताले उहिलेका कुरा खुइलेभन्दा मन चसक्क भएर गाँठो पर्छ । किन बिर्सन्छन् होला आफ्नो नाभी गाडेको माटोलाई ? यसरी बिर्संदा उजाड र उराठ  बनेको छ गाउँघर । अनि खेतबारी, टारीखेतहरू वनजङ्गलमा परिणत भएका छन् । पुर्खाको पसिनाले रसिलो, भरिलो, पोसिलो, हराभरा भएका भूमि उत्तरआधुनिकताको सुविधाभोगले सबै सखाप र स्वाहा  भएको छ ।

चामल नै खानुपर्छ भन्ने मान्यता स्थापित भएर त होला, स्थानीय उत्पादन, जोस–जाँगर, पौरखले शिर उठाउन सकेका छैनन् । जाँगरका खानी युवापुस्ता उदेक लाग्दो किसिमले पलायन भएका छन् । कति दुःख लाग्छ यो मनलाई  स्वर्गतुल्य भूमि यसरी हरिबिजोग हुँदा । 

यदाकदा सुनिन्छ– अब हामी छिटै आत्मनिर्भर हुँदै छौँ । के अब अन्न आयातले सीमा नाघेपछि आत्मनिर्भर भइन्छ ? उर्वर भूमि प्लटिङले चिराचिरा पारेपछि र बाँझो राखेपछि आत्मनिर्भर बन्न सकिन्छ ? विनाशकाले विपरीत बुद्धि भनेको यही हो । युवा पलायन भएर देशका विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन् । के तिनले चाहेको शिक्षा, रोजगारी नेपालमा असम्भव छ ? ती पौरखी युवालाई रोक्न सक्ने कुनै उपाय छैन ? युवा पलायनको बाढीलाई रोक्न सके मात्र देशले काँचुली फेर्छ । नत्र नेपाल वृद्धवृद्धाको देश बन्न सक्छ ।

ठगी, दलाली र परनिर्भरताबाट मात्रै गुजारा गर्नेको जमात मौलाएपछि खेतीपाती र आत्मनिर्भरता त पाखा लाग्ने नै भयो नि । ‘तँै रानी मै रानी कसले भर्ने कुवाको पानी’ भने भैmँ गाउँघरहरू उजाड र दयालाग्दो गरी युवाविहीन बनेका छन् । बस्तीमा दिनदहाडै वन्यजन्तुले हत्तु हैरान पार्न थालिसके । 

नाभी गाडेको माटोलाई चटक्क बिर्सिनु भनेको आफ्नो परम्परा, संस्कार, संस्कृतिलाई पनि बिर्सनु हो । आफ्नो नाभी गाडेको थातथलो छोड्नाले न परदेशमा अमनचयन मिल्छ न गाउँघर नै हराभरा बन्न सक्छ । फेरि युवाले विदेश रुचाउने वातावरण हाम्रै कमीकमजोरीले गर्दा नै सिर्जना भएको हो । त्यसैले नाभी गाडेको माटो उर्वर, हराभरा र अब्बल बनाउन पाखुरी बजारिराख्नु पर्छ । 

बुद्धिले धर्म छोड्दा मातृभूमिलाई लत्याएर हिँड्नेहरू एकदिन अवश्य पछुताउनु पर्छ । उत्तरआधुनिक कालको कृत्रिमताभन्दा जन्मथलोको प्राकृतिक धेरै शक्तिशाली, मजबुत, टिकाउ र बलियो हुन्छ । यसले हाम्रो हरेक पुस्तालाई भरथेग मात्रै होइन, पूर्ण रूपले आत्मनिर्भर बनाउन सक्छ । यहाँको प्राकृतिक सुवास सौन्दर्यले हामीलाई हरेक पाइला र परिस्थितिमा आमन्त्रण गरिरहेको हुन्छ भने हामीले परदेशको पौरख किन रोज्ने, किन खोज्ने ?   

Author

शेषराज भट्टराई