• २६ पुस २०८१, शुक्रबार

स्वास्थ्य केन्द्र भवन अलपत्र

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, वैशाख ३० गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८ मा निर्माणाधीन आधारभूत स्वास्थ्य केन्द्रको भवन बजेट अभावमा अलपत्र परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा निर्माण सुरु गरिएको स्वास्थ्य केन्द्रको भवन दुई वर्षदेखि काम अगाडि बढ्न नसकेको हो। 

मन्त्रालयले भवन निर्माण गर्न आव २०७७/७८ मा बजेट विनियोजन गरेकामा दोस्रो वर्षमा बजेट विनियोजन नगरेपछि एक तलाको ढलान गरी दोस्रो तलाको पिल्लर मात्रै बनेको छ। बनेपा नगरपालिका–८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धरले बजेट अभावका कारण आधारभूत स्वास्थ्य केन्द्रको भवनको काम रोकिएको बताउनुभयो। 

“भवन निर्माणको काम रोकिएको छ, स्वास्थ्य मन्त्रालयसँग बजेट माग गर्नुपर्ने कुराको ज्ञान नभएका कारण यो वर्ष भवन निर्माणको काम हुन सकेन, आगामी आर्थिक वर्षमा मन्त्रालयसँग बजेट माग गरेर भवनको काम पूरा गर्ने छौँ,” वडाध्यक्ष मानन्धरले भन्नुभयो। 

वडा कार्यालयका प्राविधिक सञ्जीव मानन्धरले स्वास्थ्य केन्द्र भवन निर्माण उपभोक्ता समितिले भवन निर्माणबापतको दुई किस्तामा गरी करिब २६ लाख रुपियाँ भुक्तानी लिएको बताउनुभयो। उहाँले उपभोक्ता समितिले काममा ढिलाइ गरेका कारण स्वास्थ्य केन्द्रको भवन समयमा नै सम्पन्न हुन नसकेको भन्दै उक्त भवनसँगै सुरु गरिएका अन्य स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको बताउनुभयो। 

स्वास्थ्य केन्द्र भवन निर्माण उपभोक्ता समिति अध्यक्ष विधान जोशीले नगरपालिकाले असारपछि काम गर्न बजेट नभएको बताएपछि काम रोकिएको बताउनुभयो। 

“हामीले करिब २९ लाख रुपियाँको काम गरेर नगरपालिकामा बिल पेस गरेकोमा दुई किस्तामा २६ लाख रुपियाँ भुक्तानी लिएका छौँ । नगरपालिकालाई जमानी बसिदिनु हामी भवनको काम पूरा गर्छौं भन्दा बजेट छैन कामअगाडि नबढाउनु् भनेपछि हामीले भवनको काम बिचैमा रोकेका हौँ,” अध्यक्ष जोशीले बताउनुभयो। उहाँले नगरपालिका वा सम्बन्धित निकायले बजेटको व्यवस्था गरिदिएमा छिटोभन्दा छिटो भवन निर्माण गरेर हस्तान्तरण गर्न समिति तयार रहेको बताउनुभयो। 

बनेपा नगरपालिकाभित्र वडा नम्बर–१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवनको काम भइरहेको र वडा नं. २ का दुई वटा स्वास्थ्य संस्थामध्ये एउटा भवन निर्माण गर्नुपर्ने रहेको छ। यस्तै वडा नं. १३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनको काम बाँकी रहेको र वडा नं. १४ को स्वास्थ्य केन्द्रको भवनको काम अन्तिम चरणमा पुगेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।